होमराज रानाभाट
नवलपरासी, असोज ३ गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्डको निर्माण सुरु भएको पाँच वर्ष बित्न लाग्यो। तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले काम गरिसकेको छैन । यसले गर्दा पश्चिमबाट पूर्वतर्फ आउने र जाने यात्रुले निकै कष्ट बेहोर्नु परेको छ ।
हरेक महिना महिनामा सरकारका विभागीयमन्त्री यो सडकको निरीक्षणमा आएर निर्देशन दिए पनि काम भने कछुवाको गतिमा भइरहेको छ । सडक निर्माण सुरु भएपछि १४ जना भौतिक पूर्वाधार तथा यातायातमन्त्री फेरिए र निरीक्षण गरे, सडकको निर्माणको गतिमा कुुनै फरक आएन । देवचुली नगरपालिकाका पूर्वनगर प्रमुख पूर्णकुमार श्रेष्ठले भन्नुभयो, “यो दुःखको विषय हो ।”
यो सडकको निर्माण २०७५ साल असार महिनामा ११३ किलोमिटर निर्माण गर्ने गरी तीन वर्षमा सक्ने सम्झौता भएको थियो। चाइना कन्स्ट्रक्सन प्रालिले १६ अर्ब ९९ करोड रुपियाँमा ठेक्का लिएको यो सडक २०७८ साल साउनमा सम्पन्न गर्नुपर्ने थियो । बुुटवल–नारायणगढ सडकखण्डका प्रमुख इन्जिनियर आशिष थापामगरले ४० प्रतिशत मात्र काम भएको आयोजनाको बताउनुभयो ।
आगामी २०८१ असार १० गतेसम्मका लागि पुनः म्याद थपिएको छ। यो अवधिमा पनि काम सकिन्छ भन्ने अवस्था छैन। सबैको सहयोग भयो भने सडक निर्माण पूरा हुन पनि सक्ने नेपाली पक्षका प्रमुुख इन्जिनियर थापामगरको भनाइ छ ।
प्रतिवेदनले निर्माण ढिलो
स्थानीयस्तरमा समय समयमा हुने आन्दोलनदेखि सुरुमा भएको कोभिड र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन पनि नमिलेका कारण सडक निर्माणमा ढिलाइ भएको आयोजनाका इन्जिनियर राकेश झाको भनाइ छ ।
सडक निर्माणका क्रममा ४९ हजार ८३० रुख कटान गर्नुपर्ने देखिएको उक्त प्रतिवेदनमा २९ हजार रुख मात्र कटान हुनुपर्ने भनिएको थियो। बिजुली खानेपानीको समस्या भएका कारण पनि सडक निर्माणमा ढिलाइ भएको इन्जिनियर झाको भनाइ छ ।
अहिलेसम्मको अवस्था
यो राष्ट्रिय गौरवको आयोजना हो । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुन लागेको यो आयोजना तीन वर्षमा सम्पन्न हुनुपर्ने हो। अहिलेसम्म नारायणगढ–दाउन्ने खण्डमा आठ किलोमिटर डबल लेनको कालोपत्रे सम्पन्न भएको छ । २१५ वटा क्रस डेनेज (साना कल्भर्ट) मध्ये १३६ वटा सम्पन्न भएको र बाँकी पनि सम्पन्न हुुने चरणमा छन् । २२ वटा साना पुुलमध्ये २० वटा सम्पन्न भएको र बाँकी दुई वटा पनि एक महिनाभित्र सकिने आयोजनाको भनाइ छ । ठुला पुल १२ वटामध्ये सबैको जग र पिल्लरको काम सकिएको र त्यसमा फिट गर्ने गडरहरूको निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाका नेपाली पक्षका प्रमुख इन्जिनियर आशिष थापामगरले रुख कटानको काम सकिएको छ भने बिजुलीको पोल हटाउने चुनौती बाँकी नै छ। खानेपानीको समस्या पनि हटिसकेको र पाइप सार्ने काम पनि लगभग पूरा भएको बताउनुभयो ।
बजेटको छैन अभाव
इन्जिनियर आशिष थापामगरले यो आयोजनामा रकमको कुनै अभाव नरहेको बताउनुभयो। उहाँले बिल पेस गरेका आधारमा भुक्तानी दिने गरेको बताउनुभयो। अहिलेसम्म करिब सात अर्ब रुपियाँ भुक्तानी भइसकेको छ । आयोजनाको गैँडाकोट–दाउन्ने पहिलो खण्ड र दाउन्ने–बुटवल दोस्रो खण्डका रूपमा स्वीकृत भई झन्डै १६ अर्ब ९९ करोड रुपियाँमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । दाउन्ने–बुटवल खण्डमा समेत कामको ४० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।
आयोजनाका इन्जिनियर राकेश झाले सबैको सहयोग भए काम सकिने आशा पलाएको बताउनुभयो। सरकारले समयमा पैसा दिन नसक्दा, रुख, खानेपानी र बिजुलीको पोल सार्न नसक्दा ढिलो भएको ठेकेदार पक्षको तर्क छ तर नेपाली पक्ष भने यो मान्न तयार छैन । प्रमुख इन्जिनियर थापा मगर भन्नुहुन्छ, “यसमा बहुसरोकारवाला हुँदा, काम गर्ने वातावरण नबन्दा, कोभिडका कारण, स्थानीय सामग्रीको प्राप्तिमा ढिलाइ भए पनि रकमको अभाव भने मुख्य कारण होइन ।”
रुख कटान जटिल
यो सडकमा रुख कटान नै सबैभन्दा जटिल बनेर आएको आयोजनाको भनाइ छ। गैँडाकोटदेखि दाउन्नेसम्म ३६ हजार ५४५ वटा र दाउन्नेबाट बुटवलसम्म १३ हजार ३१५ रुख कटान गर्नुपर्ने छ । सरकारी पक्षले समयमा इजाजत नदिँदा आयोजनाको समय खेर गएको इन्जिनियर झाले बताउनुभयो ।
यो आयोजनाको धेरै बायाँपट्टि राष्ट्रिय निकुञ्जको भाग पर्छ। निकुञ्जले पनि रुख कटान गर्न नदिँदा र उसको बेवास्ताका कारण पनि आयोजनाले गति लिन नसकेको झाको भनाइ छ । आयोजनाले सडकमा रहेका दुईतर्फी गरी चार हजार ८३९ विद्युत्को पोल सार्नुपर्ने छ । अहिलेसम्म तीन हजार २५ वटा पोल सारिएको र सँगै टेलिफोनको पोल, २०२ सोलार पोल सार्ने काम सकिएको आयोजनाले जनाएको छ ।
आयोजनाविरुद्ध स्थानीय आन्दोलित
आयोजना समयमा पूरा हुन नसकेपछि यसले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव परेको भन्दै स्थानीय आन्दोलित भएका छन् । धुलो र धुवाँका कारण मानव स्वास्थ्यमा असर परेको छ । गैँडाकोटका नारायण गौडेलका अनुसार लामो समयमा पनि सडक निर्माण नसकिँदा ठाउँ ठाउँमा स्थानीय आन्दोलित भएका छन्, जसले आयोजनाको कामलाई समेत प्रभावित बनाएको छ । यहाँको ११३ किलोमिटर सडकमा दैनिक १० हजार सानाठुला सवारीसाधन गुड्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक अस्तव्यस्त बन्दा अहिले पनि प्रतिघण्टा ठुला सवारीसाधन १० किलोमिटर र साना सवारीसाधन प्रतिघण्टा २० किलोमिटरभन्दा बढी कुद्न नसक्ने जनाएको छ ।
छ लेनको बन्दै छ सडक
नारायणगढ–बुटवल सडकखण्डको ११३ किलोमिटर सडकको हालको दुई लेनलाई बढाएर बजार क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेनसम्म विस्तार तथा स्तरोन्नति गर्न लागिएको हो । दुई भागमा विभाजन गरी निर्माण सुरु भएको यो बाटो एसियाली मापदण्डमा आधारित रहने जनाइएको छ ।
गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले नमुनाका रूपमा निर्माण भइरहेको यो सडक सम्पन्न भएपछि यहाँको कृषि पर्यटनसँगै विकासमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको बताउनुभयो। अहिले यो सडकखण्डमा ७५ जना चिनियाँ र २११ जना नेपाली प्राविधिकले काम गरिरहेको आयोजनाले जनाएको छ । इन्जिनियर आशिष थापामगरले आगामी मङ्सिरदेखि आयोजनाले काम दु्रत गतिमा अघि बढाउने लक्ष्य लिएको बताउनुभयो ।