• २२ वैशाख २०८१, शनिबार

‘धर्मको माध्यमबाट विश्वमा दिगो शान्ति कायम गर्न सम्भव छ’

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै एचडब्लुपीएलका अध्यक्ष ली मान ही ।

इन्चोन (कोरिया), असोज २ गते । विश्वभरी मान्दैआएका सबै धर्मको लक्ष्य मानवताको सेवा गर्नु र आत्मीय शान्ति कायम गर्ने रहेकाले धार्मिक अभियानमार्फत विश्वभर दिगो शान्ति कायम गर्न सकिने विश्वास धार्मिक गुरुहरुले गर्नुभएको छ । 

दक्षिण कोरियाको एक प्रमुख सहर इन्चोनमा मंगलबार आयोजित अन्तर्राष्ट्रिय धार्मिक गुरुहरुको सम्मेलनमा वक्ताहरुले सो विश्वास व्यक्त गर्नुभएको हो । सबै धर्मको उद्देश्य आपसी प्रेम र विश्वास भएको उहाँहरुको भनाइ छ । विश्वका सबै धर्मको माध्यमबाट साझा प्रयास गरेमा विश्वमा दिगो शान्ति कायम गर्न सम्भव रहेको उहाँहरुको बुझाइ छ ।

हेभन्ली कल्चर, वल्र्ड पिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) का अध्यक्ष ली मान हीले ईश्वरले शान्ति चाहने भएकाले सबै धर्मको एउटै उद्देश्य शान्ति कायम गर्ने रहेको तर्क गर्नुभयो । मानवको मनमा शान्ति भएमात्र अन्य काममा सफलता प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

विश्वमा धेरै पटक धर्मको नाममा लडाई झगडा भएको उदाहरण भए पनि ती सबै अज्ञानताबस भएको उहाँले बताउनुभयो । ज्ञान प्राप्ती भएमा सबै किसिमको युद्धको अन्त्य हुने र त्यसका लागि धार्मिक गुरुहरुले भूमिका खेल्न आवश्यक रहेको उहाँले बताउनुभयो ।  


धार्मिक गुरु इब्राहिम डोम्बियाले सबै धर्मका नेतृत्वगणले चाहेमा विश्वमा धार्मिक शान्ति कायम गर्न सम्भव रहेको बताउनुभयो । धर्मले सामाजिक एकता, मानवीय सहिष्णुता बनाउने काम गर्ने हुनाले धर्मको माध्यमबाट दिगो शान्ति कायम गर्न कठिन काम नभएको उहाँले विश्वास व्यक्त गर्नुभयो । मानिसमा सत्य ज्ञान प्राप्त भएपछि सबै अज्ञानता स्वतः समाप्त हुने उहाँको भनाइ छ । 

थाइल्याण्डका अर्का धार्मिक गुरु सिथावाचमेथीले एचडब्लपीएलको अभियान विश्वभरका धर्मलाई जोड्न्े उद्देश्यसाथ अघि बढेकाले सो संस्थाको अभियानको प्रसंशा गर्नुभयो । सबै धर्मले शान्ति र प्रेमका लागि काम गर्ने हुनाले आउँदा दिनमा सबै धर्मलाई एक ठाउँमा जोडेर विश्वमा शान्ति कायम गर्न सम्भव रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो । बुद्ध धर्मले मान्छेको मनलाई पवित्र र शान्त बनाउने काम गर्ने हुनाले मन सफा भएमा शान्ति स्वतः प्रस्फुटन हुने उहाँले बताउनुभयो ।


फिलिपिन्सका धार्मिक गुरु एन्टेनियो जे. एडेस्माले शान्ति र सदभावको द्वार खोल्ने काम एचडब्लुपीएलको अभियानले गरेको चर्चा गर्नुभयो । सबै धर्म आपसी विश्वास र प्रेममा टिकेकाले शान्ति कायम गर्न धर्मको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । विना विश्वास कुनै पनि धर्मको अस्तित्व नहुने भन्दै उहाँले विश्वासको माध्यमबाट नै विश्वभर शान्ति फैलाउन सकिने बताउनुभयो । 

शान्ति कायम गर्न महिलाको भूमिका

यसैगरी आजै सम्पन्न विश्व महिला शान्ति सम्मेलनमा महिला नेतृत्वले शान्ति कायम गर्नमा महिलाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । महिलाले परिवार, घर, समाज, देश र विश्वलाई जोड्ने काम गर्ने हुनाले दिगो शान्ति कायम गर्नमा पनि महिलाको भूमिका रहने चर्चा गर्नुभयो । 

सम्मेलनमा मालीबाट युनेस्कोका लागि प्रतिनिधित्व गर्दै आउनुभएकी डा. कडिया माइगा डिलो, ट्युनेसियाकी पूर्व महिलामन्त्री नजिहा नविदी, महिला विज्ञ लिलियन मास्की, आइडब्लुपीजीकी चार्लिन हुल, मारिया थेरेसा, फिलिपिन्सका रुबी बनारेस भिक्टोरिनो, डा. अहलाम विडोन, लि क्याउसन, बुडी मंचुया लगायतले दिगो शान्तिमा महिलाको भूमिकाबारेमा चर्चा गर्नुभएको थियो ।


समाज बनाउन जसरी पुरुषभन्दा महिलाको भूमिका बढी हुन्छ, त्यसैगरी दिगो शान्तिका लागि पनि महिलाको सिर्जनात्मक भूमिका रहेको महिला नेतृहरुको दावी छ । महिलाविनाको संसार परिकल्पना समेत गर्न नसकिने र समाजलाई शान्तिको सन्देश दिने काममा महिलाको नेतृत्वदायी भूमिका रहेको उहाँहरुको भनाइ छ । विश्वभरका महिलाले प्रण लिएर दिगो शान्तिका लागि काम गरेमा त्यो सम्भव रहेको वक्ताहरुले धारणा राख्नुभयो ।  

फरक फरक सेसनमा गरी कार्यक्रममा करिब पाँच हजारको सहभागिता रहेको आयोजक पक्षले दावी गरेको छ । दुवै सेसनमा दिगो शान्ति कायम गर्ने विििभन्न आयामबारे छलफल र अन्तरक्रिया गरिएको थियो । कार्यक्रम बुधबारसम्म चल्ने आयोजक संस्था एचडब्लुपीएलले जनाएको छ । 

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।