• १३ मंसिर २०८१, बिहिबार

दौड प्रतियोगिताको उपाधि नेपाली सेनालाई

blog

बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद्ले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को अवसरमा मङ्गलबार हेटौँडामा आयोजना गरेको दौड प्रतियोगिताका सहभागीहरु।

राममणि दाहाल

हेटौँडा, असोज २ गते । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को अवसरमा हेटौँडामा भएको दौड प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ । बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद्ले मङ्गलबार हेटौँडामा आयोजना गरेको दौड प्रतियोगितामा नेपाली सेनाका धावकहरूले उपाधिमाथि वर्चस्व कायम गरेका हुन् । 

पाँच किमी खुला दौड प्रतियोगितामा महिलातर्फ नेपाली सेनाको कालीप्रसाद गणकी वसन्ती गोलेले १९ः१७ मिनेटमा निर्धारित दुरी तय गर्दै प्रथम हुनुभएको परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।

दौडमा सेनाको त्रिनेत्र गणकी मनीषा पहरीले २०ः४२ मिनेट र बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाकी जुना थापा क्षेत्रीले २२ः२९ मिनेटमा निर्धारित दुरी तय गर्दै दोस्रो र तेस्रो हुनुभएको छ । यस्तै, पुरुषतर्फको दौडमा सेनाको त्रिनेत्र गणका गणेश कुँवरले १६ः५७ः२५ मिनेटमा, बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका निर्मल राना मगरले १७ः२६ मिनेटमा र सेनाको गोरखबहादुर गणका यमन कटुवालले १७ः३० मिनेटमा निर्धारित दुरी तय गर्दै क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नुभएको छ ।

प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः सात हजार, छ हजार र पाँच हजार रुपियाँ नगदसहित प्रमाणपत्र संविधान दिवसका अवसरमा बुधबार हेटौँडामा हुने कार्यक्रममा प्रदान गरिने भएको छ ।

हेटौँडाको बुद्ध चोकबाट सुरु भएर हेटौँडा उपमहानगरपालिका ५ स्थित पिप्ले पुगेर पुनः फर्किएर पाँच किमी दौड खुला दौडमा महिला र पुरुष गरी ७० जना खेलाडी सहभागी थियो।