• १४ मंसिर २०८१, शुक्रबार

नागरिकको अधिकार खोसिन नदिन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण : प्रमुख सचेतक न्यौपाने

blog

गुणबहादुर रोका

सुलीकोट, असोज २ गते । गण्डकी प्रदेश सांसद तथा नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दुप्रसाद न्यौपानेले नागरिकको अधिकार खोसिन नदिन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण भएको बताउनुभएको छ । सोमबार दरौदी प्रकाशन समूह गोरखाद्वारा प्रकाशित दरौदी दैनिक पत्रिकाको २६ औँ वार्षिक उत्सवको अवसरमा आयोजित पत्रकारहरूको वर्तमान अवस्था विषयका छलफलमा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

सचेतक न्यौपानेले भन्नुभयो, “मिडिया समाजको ऐना हो, आँखा हो, पत्रकारबाट सत्य र तथ्यको आधारमा कार्य सम्पादन भयो भनेमात्र पत्रकारिताको धर्म पुरा हुन्छ ।” उहाँले पत्रकारले पत्रकारिताको सिद्धान्तबाट प्रेरित भएर कलम चलाउनु पर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समयमा प्रविधिको विकाससँगै समाजमा अराजकता बढ्दै गएको र त्यसलाई ठिक ठाउँमा ल्याउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

“हिजो नागरिकको अधिकार खोसिदा सबैभन्दा पहिला सडकमा उत्रिएर सबैभन्दा पहिला लाठी खाने, आन्दोलन गर्ने पनि पत्रकारहरूले गरेकै हो”, सचेतक न्यौपाने भन्नुभयो, “सबैखालका परिवर्तनमा पत्रकारको महत्त्वपूर्ण भूमिका निर्वाह गरेको इतिहास साक्षी रहेको छ ।” उहाँले पत्रकारहरू राज्य नपुगेको ठाउँमा पुग्ने गरेको समेत बताउनुभयो ।

“राज्यलाई झुक्क्याउने काम पनि पत्रकारले गरिरहनु भएको छ”, सचेतक न्यौपानेले भन्नुभयो, “अबको पत्रकारहरूको कलम देशको आर्थिक, भौतिक तथा सामाजिक विकासका लागि पनि चल्नुपर्छ ।” उहाँले आर्थिक अवस्था सबल नभए देशको व्यवस्था नै धरापमा पर्न सक्ने प्रशस्तै नजिर रहेको पनि बताउनुभयो । 

सचेतक न्यौपाने पर्यटक गोरखामा आएका पर्यटकहरूलाई कम्तीमा केही दिन गोरखा बस्नसक्ने वातावरणको सृजना गर्ने तर्फ केन्द्रित भएर काम गर्न पनि सुझाव दिनुभयो ।