• १ जेठ २०८२, बुधबार

नेपालगञ्ज बसपार्कमा निःशुल्क पिउने पानीको व्यवस्था

blog

नेपालगन्ज बसपार्क गेटमा निःशुल्क शुद्ध पिउने पानीको शुभारम्भ गर्दै नगर प्रमुख प्रशान्त विष्ट । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असोज २ गते । नेपालगञ्ज बसपार्कमा शुद्ध पिउने पानीको व्यवस्था गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सिद्धार्थ बैङ्कको सहयोग र शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सको संरक्षण र व्यवस्थापनमा बसपार्क गेटमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले मंगलबार एक कार्यक्रमकाबिच शुद्ध पिउने पानीको शुभारम्भ गर्नुभएको हो । बसपार्कमा दैनिक सयौँ यात्रुहरूको आवतजावत हुने भएकाले उनीहरूको सुविधाका लागि निःशुल्क पिउने पानीको व्यवस्था गरिएको नगर प्रमुख विष्टले बताउनुभयो । उहाँले नगरका अन्य स्थानमा पनि यसअघि शुद्ध पिउने पानीको व्यवस्था गरिएको बताउँदै आवश्यकताका आधारमा अन्य क्षेत्रमा पनि व्यवस्था मिलाइने उल्लेख गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, सिद्धार्थ बैङ्कका लुम्बिनी प्रदेश प्रमुख उपेन्द्र गर्तौला र शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सका दिलबहादुर थापाले निःशुल्क पिउने पानीको व्यवस्थाले सर्वसाधारण लाभान्वित हुने बताउनुभयो ।

सिद्धार्थ बैङ्कले खानेपानी मेसिन उपलब्ध गराएको छ भने शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सले यसको रेखदेख, संरक्षण, सरसफाइ र व्यवस्थापन गर्नेछ ।