• १३ मंसिर २०८१, बिहिबार

अपाङ्गता भएकाहरूका पक्षमा आवाज उठाउने प्रतिबद्धता

blog

अपाङ्गता भएका व्यक्तिका सवालहरूमा नीतिगत बहस कार्यक्रम । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह 

धनगढी, असोज २ गते । सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले आफूहरू अपाङ्गता भएका व्यक्तिका हितका लागि आवाज उठाउने प्रतिबद्धता गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिका सवालहरूमा नीतिगत बहस कार्यक्रममा सोमबार  बोल्दै प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य सन्तोष शर्मा थापाले छ वर्षसम्म अपाङ्गता भएका व्यक्तिको सम्बन्धमा प्रादेशिक नीति नबन्नु उचित नभएको बताउँदै नीति नहुँदासम्म अपाङ्गता भएका व्यक्तिका लागि गर्न मिल्ने काम गर्नुपर्ने बताउनुभयो ।

अर्का प्रदेश सभा सदस्य पदमबहादुर शाहीले अपाङ्गता भएकाहरूबाट उठाइएका माग उचित भएको बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरूका माग पूरा गर्न आफूले सरकारसँग आग्रह गर्ने बताउनुभयो । 

प्रदेश सभा सदस्य शाहीले अपाङ्गता भएकाहरूलाई समाजमा समेत मानसम्मान नहुने बताउँदै उहाँहरूको सम्मान हुने वातावरण सरकारले मात्रै होइन अरू नागरिकले पनि बनाउनु पर्ने बताउनुभयो ।

अपाङ्गता भएकाहरूका हितमा क्रियाशील भएका नन्दराज भट्टले अपाङ्गता भएका व्यक्तिहरूका लागि छ वर्षसम्म पनि प्रादेशिक नीति नबन्नु दुखद भएको बताउनुभयो । 

उहाँले लामो समयदेखि आग्रह गर्दागर्दे पनि प्रदेश सरकारका नयाँ भवन समेत अपाङ्गमैत्री नभएको बताउनुभयो । उहाँले उदाहरण दिँदै भन्नुभयो, हालै निर्माण पूरा भएको न्यायाधिवक्ता भवन समेत अपाङ्गता मैत्री नभएको बताउनुभयो ।

सो अवसरमा सरोकारवालाले प्रदेशका सामाजिक विकासमन्त्रीको अध्यक्षतामा रहेको निर्देशन समिति पनि दशवटै खालका अपाङ्गता भएकाहरूलाई समेट्नु पर्ने बताएका थिए । अपाङ्गता भएका भीम कुस्मीले आफूहरूले चार पाङग्रे स्कुटरको लाइसेन्स पाउनु धारणा राख्नुभयो ।

दृष्टिविहीन समेत रहेका शिक्षक अर्जुन रावलले अप्टिजम लगायतका सबै खालका अपाङ्गता भएकाहरूका लागि नमुना विद्यालय बनाउन प्रदेश सरकार लाग्नु पर्ने धारणा राख्नुभयो ।