• १३ मंसिर २०८१, बिहिबार

खाँडाचक्र नगरपालिकाले एचआईभी सङ्क्रमितकाे जीविकोपार्जनमा सहयोग गर्ने

blog

जिल्लाका एच.आइ.भि सङ्क्रमितको समस्याका बारेमा छलफल गदै सरोकारवालाहरु । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, असोज २ गते । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले आफ्नो पालिकाभित्रका एच आई भी सङ्क्रमितहरुको पहिचान गरेर उनीहरुको जीविकोपार्जनमा सहयोग गर्ने भएको छ । एच आई भि सङ्क्रमणका कारणले समाजमा नखुल्ने र उनीहरुको स्वास्थय उपचार तथा जीवन सञ्चालनमा समेत समस्या हुने हुँदा उनीहरुलाई प्रोत्साहन स्वरुपमा सहयोग गर्ने भएको हो । 

कर्णाली प्लस द्वारा कालीकोटमा सञ्चालित समुदायको नेतृत्व अनुगमन कार्यक्रमले आयोजना गरेको एक कार्यक्रममा नगरपालिका उपप्रमुखसहित सबै वडा अध्यक्षले सङ्क्रमितको खोज, तथा उद्धारका लागि नगरपालिकाले सहयोग गर्ने लिखित प्रतिबद्धता गरेका छन् । कार्यक्रममा बोल्दै नगर उपप्रमुख गणेशबहादुर शाहीले कर्णाली प्लसको प्रास्तावलाई नगरपालिकाले छलफल गरेर पारित गर्ने र आर्थिकदेखि कहाँ कस्तो सहयोग चाहिन्छ त्यो गर्न तयार रहेको बताउनुभयो । 

वडा नं ६ का वडा अध्यक्ष दिनेश शाहीले नगरभरिका सङ्क्रमितको पहिचान गरेर उनीहरुको जीविकाेपार्जनका लागि नगरपालिका स्तरबाटै प्याकेजमा सहयोग गर्दा राम्रो हुने बताउनुभयो । कालीकोटमा ६५ जना एच आई भि सङ्क्रमित पुष्टि भएका छन् भने त्यतिमा १२ जनाभन्दा बढी खाँडाचक्र नगरपालिकामा बसोवास गर्ने नागरिक छन् । जीवन औषधि सेवन गर्नुपर्ने र त्यसका लागि आर्थिक अभाव भइरहने हुँदा नगर सरकारले जीवन निर्वाह भत्ता वा अन्य कुनै आयमूलक कार्यक्रममा सहभागी गराउँदा उनीहरुको समस्या समाधान हुने सबै कार्यक्रमका सहभागीको सुझाव थियो । 

जिल्ला समन्य समितिका उपप्रमुख मीना रावतले राज्यले सङ्क्रमितलाई प्रोत्साहन गर्नुपर्ने भएकाले सबै स्थानीय तहलाई पहिचान भएका एच आई भि सङ्क्रमितलाई सहयोग पुगाउने खालका कार्यक्रम सञ्चालनका लागि छलफल गर्ने बताउनुभयो । उहाँले हामी सबै स्थानीय तहसँग छलफलको वातावरण गराउँछौं र त्यहाँ कर्णाली प्लस कालीकोटले आफ्नो प्रस्ताव पेश गरेर साझेदारीमा काम गर्न सहयोग पुगाउने प्रतिबद्धता जनाउनुभयो । 

कर्णाली प्लस एच आईभी सङ्क्रमितहरुको क्षेत्रमा काम गर्ने सङ्क्रमितहरुकै संस्था हो । यसले कालीकोटमा सेभः द चिल्ड्रेन, युएस आईडी लगायतसँग मिलेर काम गरिरहेको छ । समुदायको नेतृत्व अनुगमन कार्यक्रमका जिल्ला सयोजक दीपबहादुर शाहीले सहयोग नपाएकै कारणले खुलेका सङ्क्रमितहरु गोप्यमा बस्न थालेको बताउनुभयो । सरकारले हाम्रो आय आर्जनमा सहयोग गर्छ भने हामी खुल्छौं नत्र समाजले अवहेलना गर्ने गरि खुल्दैनौ भनेर सङ्क्रमितले गुनासो गर्ने गरेको जानकारी गराउनुभयो । 

स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डाक्टर सङ्केत विश्वक्रर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा सबै सरोकारवालाहरुको सहभागिता थियो ।