• १० मंसिर २०८१, सोमबार

‘खस भाषा लिपिबद्ध गर्ने तयारीमा छौँ’

blog

जुम्ला जिल्लाको सिँजा नेपाली भाषा, साहित्य, संस्कृति र सभ्यताको मूल थलोसमेत हो। सिँजा सभ्यताका रूपमा यो पालिका विकासको पाइलातिर लम्किँदै छ। भौतिक पूर्वाधार, कृषि, पर्यटन र विकासलाई प्राथमिकतामा राखेको सिँजाको अध्यक्षमा पूर्णप्रसाद धिताल हुनुहुन्छ। जुम्ला जिल्ला सदरमुकाम खलङ्गाबाट १६ कोस उत्तरपश्चिमको यो सुन्दर उपत्यका सिँजा, हिमा र कनकासुन्दरी गाउँपालिकाको प्रशासनिक र व्यापारिक केन्द्रसमेत हो। यहाँबाट ३ वटै पालिकाका नागरिकलाई नागरिकता वितरण सेवासमेत हुँदै आएको छ। 

नेकपा (माओवादी केन्द्र) का तर्फबाट अध्यक्षमा निर्वाचित धिताल सिँजामा मालपोत, नापी र राष्ट्रिय वाणिज्य बैङ्क स्थापनाका लागि राजनीतिक रूपमा पहलसमेत गरिरहनुभएको छ। आठ पालिका, सात दल, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, नापी, मालपोत कार्यालयको सिफारिससहित तीन मन्त्रालयको सहमतिको फाइल क्याबिनेटमा पुर्‍याइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को वचनबाट आशावादी अध्यक्ष धिताल भन्नुहुन्छ, “माओवादी नेतृत्वको सरकारले यति ठुलो जनचासोको विषयमा निर्णय गरी सिँजाली जनतालाई न्याय दिने छ।”  प्रस्तुत छ, अध्यक्ष धितालसँग गोरखापत्रका जुम्ला समाचारदाता नेत्र शाहीले गर्नुभएको सङ्क्षिप्त कुराकानी : 


तपाईंको पालिकामा गर्नै पर्ने विकास निर्माणका कार्य के छन् र कसरी गर्ने लक्ष्य छ ?

सिँजा गाउँपालिकामा चार वटा सडक निर्माण भइरहेका छन्। जसमा धिताललिही (शनिगाँउ, रुघा भाडगाउँ, छकालेपानी हुँदै जुम्ला बजार जाने सडक, मोफ्ला नराकोट भएर कनकासुन्दरी जोड्ने सडक, नराकोटबाट केदारनाथ हुँदै वाअँ मालिका रनुखाना सडक निर्माण भइरहेका छन्। यी सडकलाई पालिका गौरवका आयोजना घोषणा गरिएको छ। यसै गरी सिँजाका ३३ गाउँभित्र रहेका सहायक बाटा क्रमिक रूपमा निर्माण गरिँदै जाने योजना छ। 

यसै वर्ष एक घर एक धारा निर्माणको आयोजना वडा नम्बर १ मा निर्माण हुँदै छ। वडा नं. ३ मा नराकोट फार्सेबाडा र धिताललिहीमा सुस्वा कार्यक्रमबाट व्यवस्थित र स्वच्छ खानेपानी आपूर्ति हुँदै छ। वडा नं. ५ गोराँ गाउँमा खानेपानी आयोजनाले गति लिँदै छ। सिँजा गाउँपालिकाको प्रशासकीय भवन तीन तला बन्दै छ। वडा नं. ३ र ५ का वडा कार्यालय यसै वर्ष बन्ने अवस्था छ। विपत्मा परी ध्वस्त भएका १४३ घर पुनः निर्माण गर्ने काममा लागेका छौँ। 

माध्यमिक विद्यालय जोडुमा भवन बनाउँदै छौँ। पर्यटन प्रवर्धनका लागि खस भाषा, खस संस्कृति र सभ्यताको संरक्षणमा जुट्ने नीति छ। भर्खरै हामीले यहाँ बहुचर्चित केदारनाथ मेला पनि सम्पन्न ग¥यौँ, खस भाषाको पात्रो सुरु ग-यौँ, खस भाषाको लिपिबद्ध गर्ने तयारीमा छाँै। स्वास्थ्य सेवा सहजताका लागि १० शय्याको अस्पताल बनाउनुपर्ने स्थिति छ। डाक्टरको दरबन्दी र प्रयोगशाला व्यवस्थित पार्न लागेका छौँ। शिक्षक दरबन्दी मिलान र विद्यालय व्यवस्थापनलाई सचेततापूर्वक अघि बढाउँदै शैक्षिक गुणस्तर बढाउने चटारो छ। 


अहिलेसम्मका मुख्य विकास उपलब्धि के के हुन् ?

धिताललिही–शनिगाँउ–भाडगाँउ सडक ६० प्रतिशत सम्पन्न भएको छ। भैँसीगौडामा सडक निर्माण, वडा नं. १ जोड्ने जीवर्कामा पक्की पुल निर्माण, रनुखाना बाँअ सडक निर्माण, घर घरमा स्वास्थ्यकर्मी खटाई ज्येष्ठ नागरिकको दैलोमा उपचार, निःशुल्क औषधी वितरण, सबै वडामा आधारभूत स्वास्थ्य चौकी स्थापना, शून्य घर सुत्केरी रेकर्ड कायम गर्ने काम भइरहेका छन्। 

पालिकालाई आवश्यक कार्यविधि र ऐन निर्माण,  शिक्षक तालिम, उद्योग र व्यवसायी तालिम सञ्चालन, हरेक महिनाको १ गते नराकोटमा हाटबजार सञ्चालन, ऐतिहासिक सिँजा महोत्सव, केदारनाथका संरचनामा शिव मन्दिर, बारे प्रवेशद्वार, बुद्धबुदी पोखरी र कलात्मक केदारनाथ प्रवेशद्वार गरी पाँच वटा स्थायी संरचना निर्माण भएका छन्। सिँजाका उत्पादन बिक्री र खरिद गर्ने नेपाल खाद्य संस्थानसँग सम्झौता, गाउँपालिका काफल दिवस, खस दिवस र स्याउ दिवस, सिँजामा राष्ट्रिय वाणिज्य बैङ्कको काउन्टर सुरु गरिएका छन्। 

सिँजाको मुख्य समस्या के के हुन् ? तिनको समाधानका लागि के योजना छ ?

सिँजाको मुख्य समस्या भनेको विकट भूगोल, अपर्याप्त पूर्वाधार, अति न्यून स्रोत, च्याउ झैँ उम्रिएका विद्यालय, शिक्षक दरबन्दी अपुग, खस्किएको शैक्षिक गुणस्तर, राम्रो काममा पनि असहयोग गर्ने प्रवृत्ति नै हो। बसाइँसराइको निरन्तरता, बेरोजगारीको बढ्दो समस्या, जनप्रतिनिधिको सोझोपना, जागिरे मानसिकताका कर्मचारी आदि पनि समस्या छन्। यी समस्याको समाधानका लागि सङ्घ, प्रदेश र अन्य संस्थासँग समन्वय गर्दै समस्या समाधान गर्ने योजनामा छौँ।


विकास योजनाका लागि सङ्घीय र प्रदेश सरकारसँग के कसरी समन्वय गर्नुभएको छ ?

सुरुका दिनदेखि विकास निर्माणसँग सम्बन्धित निकायसँग निरन्तर समन्वय, भेटघाट गरिरहेका छौँ। विभिन्न मञ्च र मिडियाबाट पालिकाका समस्या उजागर गर्ने र पुनः समन्वय गर्ने काम गरिरहेका छौँ। यसबिचमा चार पटक मुख्यमन्त्रीसँग, तीन पटक प्रधानमन्त्रीसँग र पटक पटक अरू मन्त्रीसँग पनि भेटघाट र पहल गरिएकै हो। नेतृत्वसँगै सिँजा सभ्यताको प्रवर्धन, विकासका काममा समेत समन्वय सहकार्य गर्दै आएका छौँ। 


जनप्रतिनिधिका रूपमा एक वर्षको अवधि कस्तो रह्यो ?

अघिल्लो वर्षको असोजको वर्षाले थुप्रै घर, बाटो, खानेपानी, घट्ट ध्वस्त भए। यसको पुनस्र्थापनाका लागि बजेट पुगेन, थुप्रै चुनौती आए। त्यस्तै पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग पनि ठुलो चुनौतीपूर्ण रह्यो। कालो तुसारोले फूल झारेर किसानका स्याउ उत्पादनमा कमी आयो। त्यस्तै सङ्घबाट चालु खर्च कम निकासा आयो। बजेट अभावले सेवाबाट कर्मचारी हटाउनु प-यो। सिँजाली जनताले वर्षौंदेखि माग गरिआएको मालपोत र नापी कार्यालय स्थापनाका लागि काठमाडौँ धाउनु प-यो। 


तपाईंको कार्यकालमा कति बजेट र खर्च कति भएको छ ? 

सङ्क्षिप्तमा भन्नुपर्दा आर्थिक वर्ष २०७९/८० मा सिँजा गाउँपालिकामा ९३ प्रतिशत बजेट खर्च भई जनताले पारदर्शिता र जवाफदेहिताको नमुना देख्न पाएका छन्।