• १२ साउन २०८१, शनिबार

‘युवालाई शान्तिसँग जोड्न सकेमात्र विश्वभर दिगो शान्ति कायम हुन्छ’

blog

इन्चोन (कोरिया), असोज १ गते । विश्वभरिका युवालाई शान्ति अभियानसँग जोड्न सकेमात्र विश्वभर दिगो शान्ति सम्भव हुने युवाका अगुवाहरुले धारणा राख्नुभएको छ । हेभन्ली कल्चर, वल्र्ड पिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) को नवौं वार्षिकोत्सव तथा विश्व शान्ति सम्मेलन कार्यक्रममा सोमबार बोल्दै वक्ताहरुले सो धारणा राख्नुभएको हो ।

भोलिका भविष्य युवा भएकाले युवालाई दिगो शान्तिका लागि शान्ति अभियानसँग जोडिन आवश्यक रहेको उहाँहरुको सुझाव छ । 

एचडब्लुपीएलका अध्यक्ष ली मान हीले युवाहरु आफ्नो देश बचाउने सीपाही भएकाले युवालाई शान्ति अभियानमा जोड्न अनिवार्य रहेको बताउनुभयो । अशान्तिले विश्व अक्रान्त भइरहेका बेला युवा शक्ति शान्तिका लागि जाग्न सकेमात्र विश्वभर दिगो शान्ति सम्भव हुने उहाँले धारणा राख्नुभयो । युवाले आफ्नो परिवारको मात्र रक्षा गर्दैन, समाज, देश र विश्वको सुरक्षा गर्ने क्षमता युवासँग हुन्छ, अध्यक्ष लीले भन्नुभयो । 

संयुक्त राष्टसंघ युवा संगठन केन्याका महासचिव जोह अम्रोनोले एचडब्लुपीएलले खेलिरहेको शान्तिको भूमिका अविस्मरणीय रहेकाले यसलाई जारी राख्नुपर्ने बताउनुभयो । युवालाई शान्ति अभियानसँग जोड्ने काम महत्वपूर्ण भएको र युवामार्फत विश्वभर दिगो शान्तिको सचेतना फैलाउन आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।

टिमोर लिस्टेका प्रोफेसर जोओ एन्टोनियोले एचडब्लुपीएलले युवाहरुमा शान्तिको बीउ छर्ने काम गरिरहेकाले यसको प्रसंशा सबैले गर्नुपर्ने बताउनुभयो । विश्वभरिका युवालाई जोड्ने इन्टरनेशनल पीस युथ ग्रुप (आइपीवाईजी) अभियान मार्फत युवालाई शान्तिसँग जोड्ने काम उपलब्धीपूर्ण रहेको उहाँले चर्चा गर्नुभयो ।

नेपालका युवा अभियन्ता राजन पन्थीले स्थानीय सरकारसँग मिलेर युवामा शान्तिको अभियान सुरु गरेको जानकारी दिनुभयो । स्थानीय क्लब, स्थानीय सरकार, विद्यालय, कलेज तथा प्रदेश तथा केन्द्रीय सरकारसँग मिलेर युवामा शान्ति सचेतना कार्यक्रम गर्ने अभियान सुरु गरिएकाले दिगो शान्तिका लागि नेपाली युवाहरु चाँडै सचेत हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपालमा राजनीतिक अस्थिरता कायमै रहेकाले शान्ति अभियानले राजनीतिक स्थायित्वको लागि समेत प्रेरणा दिनसक्ने उहाँले बताउनुभयो । नेपालका केही युवाहरु बेरोजगार भएकै कारण जीवन बर्बाद पारिरहेको बताउँदै उहाँले शान्ति अभियानलाई नेपाली युवामाझ लग्नसके फलदायी हुने बताउनुभयो ।

मंगोलियन युथ काउन्सिलकी कार्यकारी निर्देशक इंखबायर जोरिग्बाटारले युवा शाक्तिले नै परिवर्तन सम्भव बनाउने भएकाले दिगो शान्तिको अभियानमा युवालाई जोड्न अनिवार्य रहेको बताउनुभयो । आइपीवाईजी कार्यक्रम मार्फत मंगोलियामा युवालाई शान्ति अभियानसँग जोड्ने काम सुरु भएकाले निकट भविष्यमा शान्तिमा महत्वपूर्ण उपलब्धी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

कार्यक्रममा एचडब्लुपीएलका पदाधिकारीले संस्थाको कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कोरियन लोक भाकाका स्टिक नेत्य पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरुले प्यानल छलफलमा भाग लिएर युवालाई शान्ति अभियानसँग जोड्न सकिने उपायका बारेमा चर्चा गर्नुभएको थियो । 

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।