अर्जुन काफ्ले
स्याङ्जा, असोज १ गते । अर्जुन चौपारी गाउँपालिकाका स्थानीय बासिन्दाले विद्युत प्राधिकरणका स्याङ्जाबाट पाउने सबै सेवा अब पालिकाबाटै पाउने भएको छ । नेपाल विद्युत प्राधिकरण स्याङ्जाले अर्जुन चौपारी-१ मा फ्युज सेवा कार्यालय राखेसँगै सबै सेवा यतैबाटै पाउने भएको हो ।
प्राधिकरणले चापाकोट-४ को दार्सिङ, कालिगण्डकी-५ को मिर्मी पश्चात् जिल्लाको तेस्रो फ्युज सेवा यहाँ राखिएको हो । प्राधिकरणका प्रमुख प्रताप बरालले फ्युज सेवा राखेसँगै मिटर माग, जडान, रिडिङ, बत्तीको गुणस्तर मापन, भोल्टेजको समस्या लगायतका काम सबै यहीबाट हुने बताउनुभयो ।
सामान्य कामको लागि दुई तीन पटक जानुपर्ने बाध्यता हटेको बताउँदै बरालले साना गुनासो पनि यसै कार्यालयबाट गर्न सकिने बताउनुभयो । विगतमा हावा लाग्दा पानी पर्दा बिजुली जाने समस्या रहेको र अब अन्त्य हुने अपेक्षा गरिएको छ ।
विद्युतको बिल भुक्तानी अनलाइनबाट गर्न सकिने बताउँदै बरालले यदि आवश्यक रहेमा काउन्टर समेत खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्युत प्राधिकरणले यहाँ काठका पोल हटाउने, कालो तार हाल्ने काम गरेको छ भने ट्रान्समिटरको समस्याबाट मुक्त गरेको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले प्राधिकरणले छोटो समयमा धेरै काम गरेको बताउँदै बिजुली जाने समस्या पनि कम हुँदै गएको बताउनुभयो । यहाँ विद्युत प्राधिकरणले स्याङ्जा र मिर्मी शाखाबाट तीन हजार ४४३ ग्राहकलाई सेवा दिँदै आएको छ ।