• १४ मंसिर २०८१, शुक्रबार

चाडबाडको मुखमा व्यापार शून्य

blog

मीना कँडेल

कावासोती, असोज १ गते । हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजका अवसरमा यति बेला बजारमा तिजको चहलपहल बढेको छ। केही दिन अगाडिदेखि नै तिज मनाउने प्रचलन सुरु भएसँगै किनमेल गर्नेको पनि भिड देखिन्छ। 

महिलाको विशेष चाड तिज पर्वका लागि विभिन्न पसलमा रातो सारी, कुर्ता र चुरापोते तथा गहना सजाइएका छन्। फेसनअनुसारको पहिरन तथा गरगहना लगाउने सोखका कारण पसलहरूमा भिडभाड बढेको छ। यद्यपि व्यापारीहरू भने पहिलेको तुलनामा व्यापार नभएको गुनासो गर्छन्। पैसाको अभावका कारण ग्राहकले किनमेल कम गरेको उनीहरूको भनाइ छ। कावासोती–८ मा रहेको धर्म वस्त्रालयमा सञ्चालक धर्म काफ्ले तिजमा व्यापार हुने आशा भए पनि निराशाजनक भएको बताउनुहुन्छ। 

“अहिले त कम्तीमा व्यापार हुनुपर्ने तर दिनमा एक पिस पनि सामान बेच्न नसकेको अवस्था छ,” उहाँले भन्नुभयो, “व्यापारको अवस्था नै खराब छ। कावासोती–२ मा ब्युटी पार्लर सञ्चालन गर्दै आउनुभएकी रमा दवाडीको पनि दुःखेसो उस्तै छ। उहाँ भन्नुहुन्छ, “व्यापार पहिला जस्तो छैन। फाट्टफुट्ट मात्र व्यापार छ। भाडा यस्तो महँगो छ, सामान किन्दैनन्। भाडा पनि उठाउन गाह्रो भएको छ।  यस्तो भइरह्यो भने व्यापारमा टिक्न गाह्रो हुने भयो।” 

बदलिइरहेको फेसन तथा धेरै कार्यक्रममा जानुपर्ने भएकाले पनि कम मूल्यका पहिरनको माग बढी भएको व्यापारी रितु पाण्डे बताउनुहुन्छ। “अब एक जनाले चार वा पाँच वटा लुगा लगाउनुपर्छ। त्यसैले अलि सस्ता खालका लुगा धेरै गइरहेको छ। सोचे अनुरूप व्यापार भने छैन।”

सर्वसाधारणले मन खोलेर खर्च गर्न नसकेको अवस्था छ। पहिला राम्रो मूल्य तिरेर कपडा किन्नेहरूले अहिले कम मूल्यका कपडा लगाउने गरेका छन्। यसको अर्को कारण बढ्दो फेसन पनि हो। पछिल्लो ट्रेन्डलाई समातेर पहिरन छनोट गर्ने भएकाले पनि हाल बजारमा रोजाइ अनुसारका ठिकै मूल्यका पहिरन खरिद गर्ने गरेको बताइएको छ। 

प्रायः महिलाले दोहो-याएर यस्ता पहिरन कम नै लगाउने भएकाले पनि सस्तो र आकर्षक पहिरन रोज्ने गरेको व्यापारीहरू बताउँछन्। अर्कोतर्फ आर्थिक मन्दीले सटर बन्द गर्नुपर्ने अवस्था छ।

पहिलेको र अहिलेको तिजमा धेरै भिन्नता देखिएको देवचुलीका सदीक्षा भण्डारी बताउनुहुन्छ। पहिले तिजमा टाढा टाढाबाट माइत आएका दिदीबहिनी भेटघाट गरेर दुःखसुखका कुरा गरेर मनाउने चलन रहे पनि अहिले भने त्यो परम्परा लोप भइरहेको उहाँको भनाइ छ। प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सबै महिलालाई मिलेर आफूसँग जे जस्तो छ, त्यस्तैमा रमाएर र तिजमा संस्कृतिको नाममा विकृति नगरेर तिज मनाउन आग्रह गर्नुभएको छ।

प्रशासनले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने सम्बन्धमा सामाजिक व्यवहार सुधार ऐन र नियमावलीले व्यवस्थित र नियमित गर्ने उल्लेख गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो।