• ५ जेठ २०८१, शनिबार

तीनकुने हत्या प्रकरण : अनुसन्धानका लागि २० जना नियन्त्रणमा

blog

फाइल तस्बिर

काठमाडौं, भदौ ३१ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले तीनकुने हत्या प्रकरणमाथि अनुसन्धान जारी रहेको बताएको छ । 

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा सो घटनामाथि अनुसन्धान भइरहेको हो । राठौरले आइतबार दिउँसोसम्म करिब २० जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “अहिलेसम्म २० जना नियन्त्रणमा लिएर अनुसन्धानको कार्य जारी रहेको छ । प्रमाण जुट्यो भने हामी भोलि नै घटनाको विवरण र दोषी सार्वजनिक गर्छौँ ।” 

घटनाको कारण र प्रमाण नजुटेकाले हालसम्म दोषी को हो भन्ने कुराको पुष्टि नभएको उहाँको भनाइ छ। 

यसैगरी, कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले अनुसन्धानको क्रममा शङ्का लागेका व्यक्तिलाई नियन्त्रणमा लिने, छोड्ने क्रम जारी रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नियन्त्रणमा लिने, छोड्ने क्रम चलिरहेको छ, इफोर्ट लगाइरहेका छौँ। तर घटना बाहिर सार्वजनिक गर्नुपर्ने अवस्थामा पुगेका छैनौँ ।”

काठमाडौँ महानगरपालिका– ३२ तीनकुनेस्थित गैरीगाउँमा दिव्य सःमिलमा शनिबार राति अन्दाजी ५६ वर्षीय कुमार भुजेल, उहाँकी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया सुभद्रा भुजेल र अन्दाजी २० वर्षीया नवीन राईको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो।