यदुप्रसाद भट्ट
मनाङ, भदौ ३१ गते । मनाङ जिल्लामा आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले चार स्थानीय तहले जिल्लाभित्र रहेका हिमतालको खोजी गर्ने योजना बनाएका छन्। धेरै पर्यटक भित्र्याउन स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
यसै सन्दर्भमा चामेस्थित चामे गाउँपालिका–४, लमजुङ हिमालको फेदीमा सिङ्गरखर्क नजिकै काजिनसरा ताल भेटिएको थियो। ताल भेटिएपछि २०७६ असोज १० देखि १४ गतेसम्म चामे गाउँपालिकाले काजिनसरा तालको प्रचारप्रसारका लागि कार्यक्रम गरेको थियो। तालको प्रवर्धन गर्न चामे गाउँपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, नेपाल पत्रकार महासङ्घ मनाङ तथा स्थानीयवासीको संलग्नतामा ताल नजिक कार्यक्रम गरिएको थियो। गुगलको जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) का अनुसार समुद्री सतहबाट पाँच हजार सात मिटर उचाइमा काजिनसरा ताल रहेको छ । चामेबाट लमजुङ हिमालको बेस क्याम्प हुँदै करिब पाँच घण्टामा यस तालमा पुग्न सकिन्छ ।
यहाँको प्रवर्धनका लागि गाउँपालिकाले ठाउँ ठाउँमा बस्ने स्थान, विभिन्न स्थानमा शौचालय निर्माण, फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइट निर्माण गरेको छ। यसले पर्यटकलाई सहज रूपमा तालसम्म पुग्न सहयोग पु¥याउनेछ। गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले तालसम्म पुग्नका लागि पालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङले ठाउँ ठाउँमा बाटो चिनाउने साइन बोर्ड राखेको जानकारी दिनुभयो। उहाँले ताल प्रवर्धनका लागि बर्सेनि तालमै पुगेर कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “तालको मापदण्ड निर्धारण गर्नका लागि सरकारसमक्ष प्रस्तावना पेस गरिएको छ, यस्ता पर्यटकीय क्षेत्रको विकासमा सरकारले सहज रूपमा छिटो प्राविधिक तथा सामग्री उपलब्ध गराई प्रवर्धन गर्नतर्फ ध्यान दिनु पर्छ ।” पर्यटकलाई तालसम्म पुग्न सहज होस् भनेर पदमार्ग निर्माण गरिएको घलेले बताउनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा जोडिएकाले यहाँको पर्यटकीय क्षेत्रको विकासमा केही मात्रामा एक्यापले सहयोग गरेको छ। तर, आवश्यक मात्रामा भने यहाँका पर्यटकीय क्षेत्रको विकास हुन सकेको छैन। मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङमा धेरै हिमलात रहे पनि यहाँ भएका तालको मापन गर्न पालिकाले नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “प्राकृतिक रूपमा नै रहेका यहाँका हिमतालसम्म पुग्न सहज छैन, पालिकाको बजेटले अपुग हुन्छ । यस्ता राष्ट्रिय गौरवका प्राकृतिक तालको खोज अनुसन्धानमा सहयोग गर्नुपर्ने हो ।” केही बजेट विनियोजन गरी खोज्ने प्रयास भए पनि आवश्यक मात्रामा काम गर्न नसकिएको उहाँको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यहाँ भेटिएका ताल वा कुण्ड के हुन् त्यसको मापन गर्न पहल गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “यहाँ देखिएका, भेटिएका ताल, कुण्डका रूपमा वर्गीकरण गर्नुपर्ने अवस्था छ, यसमा समन्वयको भूमिकामा रहनेछु।” नार्पाभूमि गाउँपालिका भने पूर्वाधार निर्माणको चरणमा नै रहेकाले हिमाल हेर्न नै नभ्याएको पालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनुभयो। उहाँले भन्नुभयो, “आगामी दिनमा जलवायु परिवर्तनले पारेका असरबारे खोज अध्ययन अनुसन्धान गर्ने, हिमाल सफाइ गर्ने योजनामा पालिका रहेको छ ।” नार्पाभूमिको विकटमा रहेको खाकर्ना हिमतालको चाँडै प्रचारप्रसार गरिने योजना रहेको अध्यक्ष लामाले बताउनुभयो ।
मनाङ ङिस्याङ गाउँपालिका–९, खाङ्सारस्थित मुन लेक र हिदम लेक भेटिएको वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिनुभयो। मुन लेक समुद्री सतहबाट पाँच हजार ८० मिटर उचाइमा रहेको छ भने हिदम लेक पाँच हजार तीन सय मिटर उचाइमा रहेको छ। यस ताल जान खाङ्सार गाउँबाट पुराना बस्ती हुँदै तीन घण्टामा पुग्न सकिन्छ। गुरुङले मुन लेकसम्म जाने बाटोमा साइनबोर्ड राखिएको तथा यसलाई अन्य ताल तथा तिलिचो तालसम्म एउटै बाटोमा जोडी प्रवर्धन गर्नेतर्फ स्थानीय सरकारसँगै प्रदेश र सङ्घ सरकारले चासो दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट अभावले स्थानीय सरकारले मात्रै विकास गर्न सक्ने अवस्था छैन । यो राष्ट्रिय आय पनि हो ।” यस्तै मनाङका अन्य पालिकामा पनि हिमताल रहेका छन् । यी तालको समेत मापदण्ड र उचाइ मापन गरी प्रवर्धनमा लाग्नुपर्ने अवस्था रहेको छ ।
समुद्री सतहबाट पाँच हजार मिटर उचाइमाथि वा अझ बढी उचाइमा ताल हुन सक्ने सम्भाव्यता रहेको छ। गौरवका रूपमा रहेका यस्ता प्राकृतिक क्षेत्रको खोज तथा अनुसन्धान गरी प्रचारप्रसार गर्न सके देशको आय वृद्धिसँगै पर्यटन प्रवर्धनमा टेवा पुग्नेछ। यी तीनवटा ताल मापदण्ड पूरा भएको तिलिचो ताल (४९१९ मिटर) भन्दा बढी उचाइमा रहेका छन्। यस्ता तालको मापन गरी प्रवर्धन गर्नु आवश्यक छ।