दोलखा समाचारदाता
दोलखा, भदौ ३० गते । दोलखाको भीमेश्वर नगरपालिकाको आयोजना तथा भीमेश्वर नगर बाल सञ्जालको संयोजनमा जनप्रतिनिधिसँग बालबालिकाको अन्तर्क्रिया कार्यक्रम गरी ५९ औँ बाल दिवस मनाइएको छ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ मूल नाराका साथ मनाइएको सो कार्यक्रममा नगरभित्रका १९ विद्यालयका विद्यार्थीले विभिन्न किसिमका ३६ वटा प्रश्न सोधेका थिए। विद्यार्थीले उठाएका प्रश्नमा दिवा खाजा, सेनेटरी प्याड, बाल क्लब, विद्यार्थी सहभागितालगायत रहेका निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुनबहादुर कार्कीले जानकारी दिनुभयो।
विद्यार्थीको सवालको जवाफ दिँदै नगर प्रमुख ईश्वरनारायण मानन्धरले विद्यार्थीका लागि बसको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो। “शैक्षिक गुणस्तर बढाउन शिक्षकलाई विभिन्न खाले तालिम दिन थालिएको छ। सकेसम्म नगरका कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने छौँ। स्रोत अभावले भने जस्तो गर्न नसकिए पनि बालबालिका लागि बजेटको १५ प्रतिशत रकम छुट्याउन थालिएको छ।”
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कार्कीले भन्नुभयो, “सामुदायिक विद्यालयका कक्षा १–५ का विद्यार्थीलाई मात्र दिवा खाजाको बजेट आएको हो। नगरपालिकाले पाँच रुपियाँ थपेर प्रतिविद्यार्थी २० रुपियाँ दिने गरेको छ। नगरका महिलालाई समेत वितरण गर्न सेनेटरी प्याड यहीँ उत्पादन गर्न लागिएको छ।”
नगरपालिकाका उपप्रमुख कमला बस्नेतले विद्यालयको अनुगमन गर्न नसकेको स्वीकार गर्दै भन्नुभयो, “बजार मात्र अनुगमन गर्ने गरिएकोमा अब विद्यालयमा पनि अनुगमन गर्न थालिनेछ। जङ्क फुडको प्रयोग रोक्न घर घरबाटै दिवा खाजाको व्यवस्था मिलाउन लागिएको छ। आइतबारदेखि बिहीबारसम्म कक्षामा, शुक्रबार बाहिर नारासहित अतिरिक्त क्रियाकलापलाई जोड दिन थालिएको छ। यसलाई अगाडि बढाउन अतिरिक्त क्रियाकलापसम्बन्धी विज्ञ ल्याएर विद्यार्थीलाई सक्षम बनाउने सोच रहेको छ।”