• ११ पुस २०८२, शुक्रबार

बुढीगण्डकी नदीमा दुई जलविद्युत् आयोजना निर्माण

blog

गुणबहादुर रोका 
सुलीकोट, पुस ११ गते ।
गोरखाको बुढीगण्डकी नदीमा थप दुई ठुला जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले बुढीगण्डकी ‘क’ र बुढीगण्डकी ‘ख’ नामक दुई आयोजना विकास गर्न लागेको हो ।

यो आयोजनाबाट कुल ३२९.४ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । जसले राष्ट्रिय विद्युत् आपूर्तिमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजनाका इन्जिन्यिर दुर्गेश मगरले बताउनुभयो ।

बुढीगण्डकी ‘क’ आयोजनाको क्षमता १०३.४ मेगावाट रहनेछ । यो आयोजना धार्चे गाउँपालिका – ३ लुस्याङ क्षेत्रमा बाँध निर्माण गरी चार किलोमिटर लामो सुरुङमार्फत पानी माछाखोलामा ल्याई विद्युत् गृह निर्माण गर्ने योजनामा आधारित छ ।

यो आयोजना रन अफ द रिभर प्राविधिमा आधारित यस आयोजनाबाट उत्पादन हुने विद्युत् १२.७ किलोमिटर लामो प्रसारण लाइनमार्फत बुढीगण्डकी ‘ख’ आयोजनासँग जोडिनेछ । यस आयोजनाको अनुमानित लागत ३१ अर्ब ३२ करोड रुपियाँ रहेको आयोजनाले जनाएको छ । 
त्यस्तै, २२६ मेगावाट क्षमताको बुढीगण्डकी ‘ख’ आयोजना धार्चे गाउँपालिका – ७ खानीबेंसीमा बाँध निर्माण गरेर अघि बढाइनेछ । बाँधबाट ९.५ किलोमिटर लामो सुरुङमार्फत पानी सोतिस्थित विद्युत् गृहमा पुर्‍याइने आयोजना इन्जिनियर मगरको भनाइ छ ।

१९७.९७ मिटरको उचाइबाट पानी खसालेर विद्युत् उत्पादन गरिने यो आयोजना पनि अफ द रिभर प्राविधिमा आधारित हुनेछ । यसको कुल लागत ५६ अर्ब ९९ सय करोड रुपियाँ अनुमान गरिएको छ ।

कम्पनीका अनुसार दुबै आयोजनाको वातावरणीय अध्यान (इआइए) र विद्युत खरीद सम्झौता (पिपिए ) सम्पन्न भइसकेको छ । यी आयोजनबाट उत्पादन हुने विद्युत् १८ किलोमिटर लामो प्रसारण लाइनमार्फत धादिङको लापा क्षेत्रमा रहेको सबस्टेशनमा जोडिएर केन्द्रीय प्रसारण प्रणालीमा समावेश हुनेछ ।

स्थानीय स्तरमा रोजगारी सृजना, पूर्वाधार विकास र समग्र गोरखाको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने आयोजनाले विश्वास लिइएको नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनीले जनाएको छ ।