काठमाडौं, भदौ २९ गते । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ । व्यवस्थापिका संसदमा महिला सहभागिता ठिकठिकै भए पनि कार्यपालिका (सरकार) मा हुन नसकेकाले संसदमा जस्तै सरकारमा पनि महिला सहभागिता सुनिश्चित गरिनुपर्ने उहाँको भनाइ छ ।
दलित महिला केन्द्र नेपालद्वारा शुक्रबार आयोजित महिलाको राजनीतिक सहभागिता र लैङ्गिक समावेशितामा दलहरूको भूमिका विषयक अन्तरक्रियामा प्रमुख सचेतक लेखकले भन्नुभयो, “संसारभर संसदमा महिलाको सहभागिता २५ देखि ३० प्रतिशतसम्म देखिन्छ तर हाम्रोमा ३३ प्रतिशत छ । यो नै पूर्णत होइन तर संसदमा जस्तै कार्यपालिकामा पनि सुनिश्चित गरिनुपर्छ ।”
नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले संसदमा ३३ प्रतिशत महिला भए पनि अर्थपूर्ण नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “महिला निर्वाचन क्षेत्र बनाउनुपर्छ सहभागिता परिणाममा खोजिनुपर्छ । हामी प्रतिस्पर्धी र क्षमतावान् हुन चाहान्छौं ।”
नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले महिलाको सहभागिता वृद्धि भएको चर्चा गर्नुहुँदै हरेक क्षेत्रमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का सचेतक रुपा चौधरीले महिलाको ३३ प्रतिशत सहभागिता भए पनि कार्यकारी भूमिका र सरकारमा महिलाको सहभागिता हुन नसकेको चर्चा गर्नुभयो । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले पार्टीभित्र दास मनोवृत्ति हाबी भएकाले पनि महिला सहभागिता चाहे जसरी हुन नसकिरहेको चर्चा गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले भन्नुभयो, महिलाका समस्या दलितका समस्या संसदमा पुरुषहरूले उठाउनु पर्दैन सुनिदिए मात्र पुग्छ । यहाँका सुन्न पनि सकिरहेको अवस्था छैन ।