मीना कंडेल
कावासोती, भदौ २९ गते । नवलपुरको कावासोतीमा अवस्थित कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा पानीको गुणस्तर कम्प्युटरबाटै मापन गर्न सकिने भएको छ । खानेपानी पाइपमा ‘सुपरभाइजर कन्ट्रोल डाटा एक्युजन (स्काडा)’ प्रणाली जडान गरेर कम्प्युटरबाटै गुणस्तर मापन गर्न मिल्ने बनाउन लागिएको हो ।
चुहावट नियन्त्रण गरी खानेपानी वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन आधुनिक प्रविधि ‘स्काडा’ जडान गरिएको छ । यसले कुन क्षेत्रमा कति पानी प्रवाह भएको छ र चुहावट कहाँ कति भएको छ भन्ने अनुगमन गर्न सकिने हुँदा मुहानबाट वितरण हुने पानी र ग्राहककोमा खपत भएको पानीलाई अनुगमन सहयोग पुग्ने कावासोती खानेपानीको अध्यक्ष दीपक लम्सालले बताउनुभयो ।
स्काडा जडानपछि पानीको चुहावट, गुणस्तर र बहाव मापन कम्प्युटरबाटै नियन्त्रण गर्न सकिनेछ । वितरित पानीको विवरण विश्लेषण ‘मास्टर कन्ट्रोल रुम’बाट हुनेछ । एडिबीको सहयोगमा स्काडा प्रणाली ४ करोड खर्चमा जडान गर्न लागिएको हो । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्ने खानेपानीमा ३० प्रतिशत चुहावट हुने गरेको छ ।
विशेषगरि जाडो याममा पानीको पाइप फुट्ने हुँदा पानी चुहावट भएपनि अहिले नारायणघाट बुटवल सडक विस्तारका क्रममा रहेकाले धेरै चुहावट हुने गरेको कावासोती खानेपानी संस्थाका व्यवस्थापक बाबुराम ज्ञवालीले बताउनुभयो । संस्थाले कावासोतीमा रहेका ९ हजार ४२ घर धुरीमा खानेपानी वितरण गर्दै आएको छ ।
संस्थाबाट अहिले प्रतिसेकेण्ड एक सय ८३ लिटर पानी उत्पादन हुँदै आएको अध्यक्ष लम्सालले बताउनुभयो । खानेपानीलाई नियमित रूपमा आवश्यकता अनुसार वितरणका लागि विभिन्न स्थानमा २ वटा ओभरहेड ट्याङ्की, ४ वटा रिजर्भ ट्याङ्की समेत निर्माण गरिएको उहाँले बताउनुभयो ।
खानेपानी महसुलमा २० रुपियाँ छुट
जिल्लाको सदरमुकाम कावासोतीमा खानेपानी आपूर्तिमा कुनै समस्या नहोस् र आवश्यकता अनुसार वितरण गर्न सकियोस् भनेर संस्थाबाट न्यूनतम महसुलमा २० रुपियाँ घटाएको छ । निजी धाराका लागि प्रति महिना १० हजार लिटर पानी प्रयोग गर्दा लाग्ने १ सय २० रुपियाँ शुल्कमा २० रुपियाँ घटाएर एक सय रुपियाँ र सामुदायिक धारामा लाग्ने न्यूनतम शुल्क २ सय २० रुपियाँमा २० रुपियाँ घटाएर २ सय रुपियाँ कायम गरिएको कावासोती खानेपानी संस्थाका सचिव ज्ञानेन्द्र न्यौपानले बताउनुभयो ।
त्यसैगरी, खानेपानी तथा सरसफाइ सम्बन्धी स्नातक तहमा इन्जिनियरिङ गर्न चाहने २ जना विद्यार्थीलाई प्रत्येक वर्ष ५० हजार रुपियाँका दरले छात्रवृत्ति दिने निर्णय पनि गरिएको सचिव न्यौपानेलेको भनाइ छ । सामुदायिक विद्यालयतर्फको पानी महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । कावासोती खानेपानी अन्तर्गत अहिलेसम्म ८ हजार ७ सय २ वटा धारा जडान गरिएको छ भने यस वर्ष ३ सय ९० धारा जडान गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
यस खानेपानी संस्थाबाट संस्थागत धारा १७३, सामुदायिक धारा ४६ र निजी धारा आठ हजार ४८३ जडान गरिएको छ । त्यसैगरी, छिमेकी साना आयोजनाहरूसँग एकीकरण गरी क्षेत्र विस्तार गर्ने, कावासोती ३ र ५ मा पाइपलाइन सुधार तथा सुवा स्तरोन्नति गर्ने, आवश्यक प्रक्रिया पुरा गरी निवेदन दर्ता भएको २४ घण्टाभित्र धारा जडान गरिने, ४५० घनमिटरको थप एउटा ओभर हेड ट्याङ्की सञ्चालनमा ल्याउने जस्ता निर्णयहरू पारित भएको छ ।