रजनी योगी
सुर्खेत, भदौ २९ गते । रुकुम–पश्चिमको चौरजहारी बजार नयाँ सहरको रूपमा विकसित भइरहेको छ । गुणस्तरीय सडक, विद्युत, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना निर्माण हुन थालेपछि सो सहरको रूप फेरिने भएको छ ।
पहाडबाट तराईमा हुने बसाइसराइ रोक्न आर्थिक वर्ष २०६७/६८ सालबाट चौरजहारीलाई नयाँ सहरको रूपमा निर्माण गर्न सुरु गरिएको हो । आयोजनाको काम सुरु भएको पाँच वर्षसम्म खासै उपलब्धि हुन सकेन । योजना छनोट, बजेट निर्माणलगायतका काममा अल्झिएको आयोजना पछिल्ला वर्ष उपलब्धि गर्न थालेको छ ।
नयाँ सहर आयोजनाले निर्माण गर्न सुरु गरेका योजनाको काम सम्पन्न हुँदै गएपछि चौरजहारी नयाँ सहरले मुहार फेर्न थालेको छ ।
२०७२ सालमा चौरजहारी नयाँ सहरको कार्यालय स्थापना गरेर काम सुरु भएको थियो । नयाँ सहर आयोजनाले निर्माण गर्न सुरु गरेका योजनाको काम सम्पन्न हुँदै गएपछि चौरजहारी नयाँ सहरले मुहार फेर्न थालेको छ । साँच्चिकै नयाँ सहरको रूपमा चौरजहारी बजारको विकास हुँदैगएको स्थानीयहरूको भनाइ छ ।
बजार क्षेत्रमा कालोपत्रे सहितको सडक, बसपार्क निर्माण, सौर्य बत्ती, एकीकृत तथा सामुदायिक भवन निर्माणको कामले थप सौन्दर्य बढाएको छ । आयोजनाले निर्माण गरेको एकीकृत सेवा केन्द्रबाट चौरजहारी नगरपालिकाको प्रशासनिक काम सञ्चालन भइरहेको छ ।
यसैगरी नगरपालिकाको वडा १, २ र ४ को डेढ तले भवन निर्माण गरिएको छ । सो भवनबाट वडा कार्यालयको काम सञ्चालन हुनेछ भने चार वटा सामुदायिक भवन निर्माणकै क्रममा छन् ।
जग्गा विकास योजनाअनुसार नगरपालिकाको वडा १ मा पाँचसय ८० रोपनी जग्गा सरकारको नाममा सारिएको छ । सो क्षेत्रमा पूर्वाधारयुक्त संरचना निर्माण गरेर पुनः स्थानीयलाई नै जग्गा हस्तान्तरण गरिनेछ । सो क्षेत्रमा ११ किलोमिटर सडक निर्माण हुनेछ ।
यसका साथै एकीकृत सामुदायिक भवन, कृषिउपज सङ्कलन केन्द्र, कार्यालय भवन तथा कर्मचारी आवासगृह निर्माणको काम अन्तिम चरणमा पुगेको नयाँ सहर आयोजना कार्यालय चौरजहारीका प्रमुख सुशील आचार्यले बताउनुभयो ।
आयोजनाले बजार क्षेत्रमा साढे ७ किलोमिटर सडक कालोपत्रे र ६ किलोमिटर सडक ढल व्यवस्थापनसहित ग्राभेल गर्ने काम सम्पन्न गरेको छ ।
आयोजनाले बजार क्षेत्रमा साढे ७ किलोमिटर सडक कालोपत्रे र ६ किलोमिटर सडक ढल व्यवस्थापनसहित ग्राभेल गर्ने काम सम्पन्न गरेको छ । ‘बजार क्षेत्रमा पनि ढल निकासको काम भइरहेको छ । विभिन्न खण्ड बनाएर निर्माण कम्पनीमार्फत सडक कालोपत्रे, ग्राभेल र ढल निकासको काम भइरहेको छ’ प्रमुख आचार्यले भन्नुभयोे ।
आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएको उहाँले बताउनुभयो । भौतिक पूर्वाधार निर्माणको कामले गति लिएको भन्दै उहाँले अहिले सञ्चालन भइरहेका सबै निर्माणका काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
अहिलेसम्म ५० किलोमिटर सडकको ट्रयाक खोलिएको छ । साढे सात किलोमिटर सडक कालोपत्रे भएको छ । यसका साथै पाँचसय ६५ वटा सौर्य बत्ती जडान, चार वटा विभिन्न भवन तथा एउटा बसपार्क निर्माणको काम सम्पन्न भएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।
ढल, फुटपाथ र नाली बनाउने काम पनि जारी छ । न्यूनतम सहरी सुविधा दिने गरी सहर बनाउने सरकारी योजनाअनुरूपको काम भइरहेको उहाँले जानकारी दिनुभयो । २० वर्षे सहर निर्माणको योजना अन्तर्गत काम थालेको १२ वर्ष पुग्यो । बजेट पर्याप्त भए तोकिएकै समयमा काम गर्न सकिने आयोजनाले जनाएको छ ।
२० वर्षे सहर निर्माणको योजना अन्तर्गत काम थालेको १२ वर्ष पुग्यो ।
आयोजना प्रमुख आचार्यले न्यून बजेट हुँदा काम गर्न कठिन भइरहेको बताउनुभयो । बजेट अभाव हुँदा समयमै ठेक्का लगाउन नसकिएको, काम अपुरो हुनेगरेको, थप बजेट माग गर्नका लागि अर्थ मन्त्रालयमा धाइरहनुपर्ने लगायतका समस्या हुनेगरेको उहाँले जानकारी दिनुभयो ।
सरकारले हरेक वर्ष नयाँ सहर आयोजनाका लागि बजेट विनियोजन गर्नेगरेको छ । पछिल्लो समय सरकारले बजेट कटौती गर्नेगरेको छ । अघिल्लो आर्थिक वर्षमा २५ करोड बजेट पठाएको सरकारले यो वर्ष बजेट कटौती गरेको छ । चालु आर्थिक वर्ष २०८०–८१ मा १७ करोड मात्र बजेट विनियोजन गरेको हो । जसलेगर्दा काम गर्न समस्या हुने आयोजनाले जनाएको छ । आयोजना निर्माण सम्पन्न गर्न दुई अर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।