गजेन्द्र गुरुङ
खजुरा, भदौ २९ गते । बाँकेमा इन्फ्लुएन्जाका बिरामीको सङ्ख्या बढेको छ । भेरी अस्पतालमा आएका बिरामीको नमुना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको सङ्ख्या बढ्न थालेको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन समेत रहनुभएका कन्सल्टेन्ट फिजिसियन डा.खगेन्द्रजंग शाहले जानकारी दिनुभयो ।
विगत दुई सातादेखि इन्फ्लुएन्जाका बिरामी बढेको उहाँको भनाइ छ । अस्पतालले उपचारका लागि आएका बिरामीमध्येबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउने गरेको छ । साप्ताहिक रूपमा पठाउने गरिएको नमुनामा इन्फ्लुएन्जा देखिने क्रम बढ्दै गएको अस्पतालका प्रयोगशाला प्रमुख प्रसन्न मिश्रले जानकारी दिनुभयो ।
इन्फ्लुएन्जाको सङ्क्रमण हुँदा मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या देखिन्छन् । पछिल्लो हप्तादेखि इन्फ्लुएन्जाका बिरामीको सङ्ख्या ह्वातै बढेको देखिन्छ । परीक्षण गरेकामध्ये ४० प्रतिशतको हाराहारीमा इन्फ्लुएन्जा पुष्टि हुन थालेको छ । मौसम परिवर्तन हुने समयमा देखिने भएकाले बिरामीको बढ्दो क्रममा रहेको प्रयोगशाला प्रमुख मिश्रले बताउनुभयो ।
चिकित्सकका अनुसार मौसमी इन्फ्लुएन्जा एक किसिमको भाइरसको सङ्क्रमण हो । इन्फ्लुएन्जालाई बोलीचालीको भाषामा ‘फ्लु’ भनेर बुझिन्छ । हुन त यो समयमा मौसमी ‘फ्लु’ देखिनु सामान्य नै हो । सामान्यतः नेपालमा फागुन–चैत र साउन–भदौमा ‘फ्लु’ सङ्क्रमण बढी देखिने गरेको छ । इन्फ्लुएन्जा श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ । यो निकै सङ्क्रामक हुन्छ । सङ्क्रमित मानिसको श्वासप्रश्वासबाट सहजै फैलिन्छ । बिरामी नजिक जानु नै पहिलो जोखिम भएको डा. शाहको भनाइ छ ।
परिवारको एक सदस्यबाट, विद्यालय र होस्टलका विद्यार्थीमा एकअर्कोमा सर्ने जोखिम अत्यधिक हुने पनि उहाँको भनाइ छ । चिकित्सकका अनुसार यस समयमा भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिने हुँदा मानिसमा सर्ने दर पनि बढी हुन्छ ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डेले दैनिक रुघाखोकीका बिरामी उपचारका लागि आउने क्रम बढ्दो रहेको बताउनुभयो। उहाँका अनुसार समुदाय स्तरमा इन्फ्लुएन्जा फैलिरहेको छ । भेरी अस्पतालको बहिरङ्ग सेवामा जाँच गराउन आउनेमध्ये ३०–३५ जनामा रुघाखोकीको समस्या देखिन्छ । त्यसमध्ये अधिकांशमा इन्फ्लूएन्जा पुष्टि हुने गरेको छ ।
फ्लु निकै सङ्क्रामक हुने र लक्षण देखिएका सबै व्यक्ति परीक्षणका लागि नआउने भएकाले सङ्क्रमितको सङ्ख्या अस्पतालमा देखिएकोभन्दा धेरै हुनसक्ने डा. पाण्डेको भनाइ छ । यो समय मौसमी बिरामी देखिनु सामान्य भएपनि सङ्ख्या धेरै हुनु असामान्य भएको उहाँको भनाइ छ । भाइरसको एउटा प्रकारलाई ‘इन्फ्लुएन्जा’ भनिन्छ । मौसम परिवर्तनमा हुने समयमा लाग्ने रुघाखोकी नै ‘इन्फ्लुएन्जा’ अर्थात् मौसमी फ्लु हो ।
चिकित्सकका अनुसार इन्फ्लुएन्जा ए बी, सी र डी गरी चार प्रकारका हुन्छन् । नेपालमा भने इन्फ्लुएन्जाका विभिन्न प्रकारमध्ये ए र बी बढी देखिने गरेको चिकित्सकहरू बताउँछन्। डा. पाण्डेका अनुसार अनुसार इन्फ्लुएन्जा ए, बीको तुलनामा बढी सङ्क्रामक र स्वास्थ्यमा जटिलता ल्याउने हुन्छ । फ्लुका कारण अचानक ज्वरो आउने, रुघाखोकी लाग्ने, थकान महसुस हुने, नाकबाट पानी बग्ने, हाच्छ्यिुँ आउने, शरीर दुख्ने जस्ता लक्षण देखिन्छन् । त्यस्तै आँखाको नानी, टाउको दुख्ने, नाक बन्द हुने, घाँटी बस्ने, श्वासप्रश्वासमा समस्या देखिने, बालबालिकामा पखाला लाग्ने जस्ता लक्षण देखिन्छ ।
फ्लु सङ्क्रमण हुँदा सुरुमा रुघा लाग्ने तथा भाइरसको सङ्क्रमण कडा बन्दै जाँदा श्वासप्रश्वासमा समस्या निम्तिएर मानिसको मृत्यु पनि हुन्छ । फ्लुका लक्षण सामान्यतया ७ दिनसम्म रहने र बिस्तारै हराउँदै जाने चिकित्सकहरू बताउँछन् । मौसमी फ्लुले रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसलाई बढी असर गर्ने गर्छ । डा. पाण्डेका अनुसार ज्येष्ठ नागरिक, दीर्घरोगी, कुपोषित बालबालिका, नियमित औषधि सेवन गर्ने मधुमेह, उच्च रक्तचाप वा मुटुका बिरामीलाई फ्लुले बढी असर गर्ने हुन्छ ।
चिकित्सकका अनुसार यसको सबैभन्दा बढी असर दीर्घरोगी र ज्येष्ठ नागरिकमा भएपनि हिजोआज युवा र बालबालिकामा रुघाखोकी लामो समयसम्म रहने र छाती निरन्तर घ्यारघ्यार हुने नयाँ समस्या देखिएको छ । ‘ज्येष्ठ नागरिक तथा दीर्घरोगीमा फ्लु हुँदा निमोनिया देखिने सम्भावना बढी हुन्छ । यसले उनीहरूको स्वास्थ्यमा झन् जटिलता ल्याउँछ । अहिले अस्पताल भर्ना हुनेमा धेरैजसो दीर्घरोगी छन् । त्यसैले यो समूह बढी सतर्क र सुरक्षित रहनुपर्छ’, डा. शाहले भन्नुभयो ।
फ्लु लागेका मानिसहरूलाई अन्य लक्षणहरू ठीक भएपनि खोकी भने लामो समयसम्म रहिरहन सक्ने चिकित्सकहरू बताउँछन् । फ्लुको सङ्क्रमण निको पार्ने विशेष औषधि छैन। फ्लु सङ्क्रमित व्यक्तिमा सङ्क्रमण कडा भएको अवस्थामा ‘ओसेलटेमिभिर’ नामक औषधि चलाइने चिकित्सकहरू बताउँछन् । तर जथाभाबी एन्टिवायोटिक औषधि प्रयोग गर्नाले बिरामीलाई थप जटिलता निम्तने भन्दै चिकित्सकको सुझाव बिना जथाभाबी औषधि नखान डा. शाहको सुझाव छ । ज्वरो आएको केही दिनसम्म निको नभए वा रुघाखोकीसँगै वान्ता, झाडापखाला, खाना नरुच्ने, सास फेर्न गाह्रो हुने लक्षण देखिए तुरुन्त डाक्टरसँग सल्लाह लिनुपर्छ ।
समयमा नै उपचार नगरे इन्फ्लुएन्जाको सङ्क्रमणका कारण निमोनिया भई बिरामीको ज्यानसमेत जानसक्ने जोखिम रहने चिकित्सकहरू बताउँछन् । गाउँघरका मेडिकलबाट टाइफाइडको औषधि लिएर सन्चो भइहाल्छ भन्ने भ्रम राख्दा बिरामीको अवस्था थप जटिल हुने चिकित्सकहरू बताउँछन् । पछिल्लो समय डेंगु र स्क्रवटाइफसका बिरामी पनि देखिएका छन् भने कोरोनाका बिरामी पनि देखिएका छन् । रुघाखोकी लामो समयसम्म रहेमा स्वास्थ्य परीक्षण नगराई घरमा नबस्न डा. पाण्डेको सुझाव छ ।
“भाइरस सङ्क्रमण शरीरमा फैलिएर ज्यानै जाने सम्भावना हुन्छ । रुघाखोकी त हो नि भनेर हेलचेक्र्याइँ गर्ने प्रवृत्ति बढ्दो छ”, डा. पाण्डे भन्नुहुन्छ, “ढिलो अस्पताल आइपुग्दा कतिपय बिरामीको अवस्था जटिल भइसकेको हुन्छ ।” मास्क लगाएर हिँड्न र भाइरल सङ्क्रमणबाट बच्न वर्षमा एक पटक इन्फ्लुएन्जा विरुद्धको खोप लगाउन चिकित्सक सुझाव दिन्छन् ।
गर्भवती, दम, क्यान्सरको समस्या भएका व्यक्ति, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, दीर्घरोगको समस्या भएका व्यक्तिलाई खोपले फाइदा पु¥याउँछ । विभिन्न किसिमका भाइरल सङ्क्रमणबाट जोगिन इन्फ्लुएन्जाविरुद्ध खोप लगाउन उचित हुने चिकित्सकको डा. पाण्डेको भनाइ छ । इन्फ्लुएन्जा विरुद्धको खोप मुटु र श्वासप्रश्वासको समस्या भएका बालबालिकालाई अनिवार्य दिइन्छ ।
त्यसबाहेक अन्यलाई पनि इन्फ्लुएन्जा हुँदा रुघाखोकी र निमोनिया हुने सम्भावना रहेकाले उक्त खोप लगाउन विज्ञ सुझाव दिन्छन् । उनीहरूसँग रोगसँग लड्ने क्षमता कम हुन्छ । अस्पताल, क्लिनिक र फार्मेसीमा पनि सहजै उपलब्ध हुने भएकाले ६ महिनामाथिका जोसुकैले खोप लगाउनु उचित चिकित्सकहरू सुझाव छ ।