• १३ मंसिर २०८१, बिहिबार

राष्ट्रपतिद्वारा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने महिला चिकित्सक सम्मानित

blog

नेपाल स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने सम्मानित महिला चिकित्सकसँग राष्ट्रपति रामचन्द्र पौडेल र स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलगायत । तस्बिर : राष्ट्रपति भवन

काठमाडौं, भदौ २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक संघले घोषणा गरेको  यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा सम्मानित हुनेहरुमा डा. अर्चना अमात्य, डा. गीता शाक्य, डा. मीता सिंह, डा. कोकिला वैद्य र डा. प्रमिला प्रधान हुनुहुन्छ ।

यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलले संघले प्रदान गर्ने ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ डा. दिव्यश्वरी श्रेष्ठ, डा. लता बज्राचार्य, डा. शोभा अर्याल, डा. कस्तुरी मल्ल र डा. गीता कार्की रानालाई प्रदान गर्नुभयो ।


उहाँहरुले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा पुरयाउनुभएको योगदानको कदर गर्दै संघले सो सम्मान गरेको हो । उहाँहरुलाई ट्रफी, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘स्वास्थ्य र शिक्षा जस्ता संविधानले नै नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरेको विषयका आधारभूत सेवालाई प्रभावकारी रुपमा कार्यान्वन गर्न सरकार सदैव प्रयत्नशील रहेको छ’ भन्नुभयो ।

उहाँले स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा पर्याप्त दरवन्दी आवश्यक रहेको र मुलुकमा आवश्यक स्वास्थ्य सम्बन्धी जनशक्ति तयार गर्न बेलैमा ध्यान दिन सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की र सम्मान छनौट समितिका संयोजक किरण रेग्मीले पनि संघले गर्दै आएका कार्यबारे प्रकाश पार्नुभएको थियो ।