यदुप्रसाद भट्ट
मनाङ, भदौ २९ गते । खेलाडीहरूले पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना जगाउँदै एकीकृत प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । मनाङको उच्च स्थान (हाइअल्टिच्युड) मा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सम्बन्धित क्षेत्रका विज्ञ तथा खेलाडीहरूले पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना तथा एकीकृत प्रयास आवश्यक रहेको बताएका हुन् ।
जैविक विविधता संरक्षण समाज (बायोकोस) नेपाल, आन्ट फाउन्डेसन र वाइल्ड एन्ड फ्री फाउन्डेसनको संयुक्त आयोजना, जिल्लाका विभिन्न स्थानीय तहको समन्वय तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा मनाङमा मैत्रीपूर्ण खेल सञ्चालन गरिएको हो ।
यही भदौ २५ देखि २७ गतेसम्म भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालका ख्याति प्राप्त कलाकार, खेलाडी, मिस नेपाल वर्ल्ड २०२३, मिस्टर नेपाल २०२३ लगायतको सहभागिता थियो । प्रतियोगितामा हिमालयन स्नो लेयोपर्ड समूहका साथै मनाङका स्थानीय समूह कजिनसरा याक, पिसाङ याक र मनाङ याकको सहभागिता रहेको आयोजकले जनाएको छ । तिमाङ, पिसाङ र मनाङ मुङ्जीमा खेल भएको थियो ।
समुद्री सतहबाट दुई हजार ८ सयदेखि ३ हजार ५ सय मिटरसम्मको उचाइमा रहेको खेलमैदानमा खेल भएको थियो । तिमाङमा आयोजित खेलमा हिमालयन स्नो लेयोपर्ड समूह र कजिनसरा याकबिच भएको थियो । उक्त खेलमा हिमालयन स्नो लियापर्ड ४–३ गोलसहित विजयी भएको थियो भने पिसाङमा आयोजित दोस्रो खेल पिसाङ याक र हिमालयन स्नो लियोपर्डबिच भएको थियो । हिमालयन स्नो लियोपर्ड ३–१ गोलसहित विजयी भएको थियो ।
मुङ्जी भ्राकामा हिमालयन स्नो लियोपर्ड र मनाङ याकबिचको तेस्रो तथा अन्तिम खेलमा २–१ गोलसहित हिमालयन स्नो लियोपर्ड विजयी भएको थियो । मैत्रीपूर्ण भएका तीन वटै खेलमा लियोपर्डले जित निकालेको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले मनाङ पर्यटनको लागि अथाह सम्भावना भएको स्थान भएको बताउँदै यस प्रकारका खेलले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावलाई सुसूचित गर्दै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।
स्थानीय समूहतर्फ काजिनसरा, पिसाङ र मनाङ याकका खेलाडीले खेल खेलका थिए । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङमा आयोजित प्रतियोगिता यस क्षेत्रका साथै नेपालकै पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुग्ने बताउनुभयो । पर्यटनसँगै विश्वमा भएको जलवायु परिवर्तनको असर नेपालमा पर्न थालिसकेकाले यसका विषयमा स्थानीयवासीलाई सुसूचित गर्न प्रतियोगिताले सहयोग पुगेको उहाँले बताउनुभयो ।
लियोपर्ड समूहमा नेपाली फुटबल टिमका पूर्व कप्तान हरि खड्का, अनिल गुरुङ, पूर्वकिपर उपेन्द्रमान सिंह र नवीन न्यौपाने, राष्ट्रिय महिला फुटबल टिमका पूर्वकप्तान निरु थापा, अस्मिता रणपाल, तेक्वान्दो खेलाडी सीता तामाङ, मिस नेपाल वर्ल्ड श्रीच्छा प्रधान, कलाकार तथा आन्ट फाउन्डेसनका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकार, अमेरिकाको वाइल्ड एन्ड फ्रि फाउन्डेसनका संस्थापक म्याट ब्राकेन, नामिवियाको फुल सर्कल स्डडिज एन्ड सफारीका संस्थापक डा जेफ मोन्टिप्रिङ, कलाकारहरू त्रिचु राई, नरेन खड्का, गायक तथा सङ्गीतकार जेम्स प्रधान, मिस्टर नेपाल समर्पण कार्की, मिस्टर नेपाल रनर अपनिमेश कपाली तथा प्रिस्का उदास थिए ।
हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा र याकको संरक्षण, पर्यापर्यटनको प्रचार तथा प्रवर्द्धन, जलवायु परिवर्तन सम्बन्धित जनचेतना अभिवृद्धिलगायतका उद्देश्यसहित मैत्रीपूर्ण खेल सञ्चालन गरिएको आयोजक बायोकोसका निर्देशक पारसविक्रम सिंहले जानकारी दिनुभयो ।
आन्ट फाउन्डेसनका संस्थापक अध्यक्ष ताम्राकारले लोपोन्मुख हिउँ चितुवा, जङ्गली याकलगायत वन्यजन्तुको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्दै खेल पर्यटन र पर्यापर्यटनको प्रवर्द्धनका लागि कार्यक्रम सहयोगी हुने अपेक्षा गरिएको बताउनुभयो ।