• १४ मंसिर २०८१, शुक्रबार

हरित रोजगारी सिर्जना परियोजनामा प्रतिबद्धता

blog

हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगका उपप्रमुख युन यंग लीद्वारा हस्ताक्षर । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
कास्की, भदौ २९ गते ।
 पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच पोखरा महानगरपालिकामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ । सो पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युन यंग लीले हस्ताक्षर गर्नुभएको हो ।

पोखरा महानगरपालिका र कोइका बिचको समझदारीलाई बलियो बनाउने उद्देश्यले पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको दुवै पक्षको बुझाइ छ । यसअघि नै कोइका र महानगरपालिका बिच ३० अगस्ट २०२३ मा परियोजना सम्बन्धी प्रारम्भिक मस्यौदामा हस्ताक्षर भइसकेको छ । हाल सो परियोजना नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबिच स्वीकृतिको अन्तिम प्रक्रियामा रहेको छ ।

प्रतिबद्धता अनुसार कोइकाले हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई बढवा दिन उपयुक्त माध्यम सिर्जना गर्नेछ, जसले महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयू उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ । यस्तै, ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ । फोहरमैला सचेतना सम्बन्धी नागरिक व्यवहारमा परिवर्तन ल्याउन यस परियोजनाले महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिबद्धता अनुसार ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना गर्न महानगरपालिकाले पोखराको वडा नम्बर ६ वसुन्धरा पार्कमा पाँच हजार ९० वर्ग मिटर क्षेत्रफल उपलब्ध गराउनेछ । हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो आरयू उद्यमहरूलाई बढवा दिन उपयुक्त वातावरण सिर्जना गर्न महानगरपालिकाले पर्याप्त र आवश्यक मानव संसाधनहरू विनियोजन गर्नेछ । हरित अर्थतन्त्रमा योगदान पु¥याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चिततासहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का उपप्रमुख युन यंग लीले यस परियोजनाले युवाहरूका लागि रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । फोहोर मैलाको उचित व्यवस्थापनमार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि आवश्यक रहेको उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फोहोर मैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको बताउँदै यसलाई मोहोरमा बदल्ने प्रयास स्वरूप हरित रोजगारी सृजनामा जोड्न लागिएको बताउनुभयो । “यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, फोहोरबाट मोहोर आर्जन हुनेछ,” उहाँले भन्नुभयो ।