लोकेन्द्र जोशी
दार्चुला, भदौ २८ गते । दार्चुलाको व्याँस गाउँपालिका –१ टिंकरस्थित चीनसँगको सीमाक्षेत्र छायालेकमा सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ ।
सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहालले शुक्रबार बिओपीको उद्घाटन गर्नुभयो । दार्चुला सदरमुकाम खलंगाबाट करिब ११२ किलोमिटर उत्तरतर्फ टिंकरमा सशस्त्रको बिओपी उद्घाटन गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म छाङरु दार्चुलाको मातहतमा स्थापना भएको टिंकर बिओपी गुल्मबाट करिब ११ किलोमिटर दूरीमा पर्छ । टिंकरमा स्थापना भएको बिओपीसहित चीनतर्फ नौँ र भारततर्फ २४३ गरी बिओपीको संख्या देशभर २५२ पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।
टिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहने बिओपी स्थापनाका लागि गत वर्ष एउटा भवन निर्माण गरिएको थियो । हेलिकोप्टरबाट भदौ १३ गते आवश्यक बन्दोबस्ती र जनशक्ति लगिएको थियो । बिओपी उद्घाटन कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल जिल्लास्थित सुरक्षा अधिकारीलगायत टिंकर पुग्नुभएको थियो ।