काठमाडौं, भदौ २८ गते । पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार पाँच सय पुगेको छ । अन्य सात हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
त्रिपोलीस्थित आपत्कालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकको यकिन सङ्ख्या अझै निर्धारण गर्न नसकिएको र अझै पनि बाढीबाट प्रभावित क्षेत्रहरूबाट शव निकाल्ने काम भइरहेको बताउनुभयो ।
बाढी प्रभावित क्षेत्रमा करिब १० हजार मानिस बेपत्ता भएको र ३० हजार बढी विस्थापित भएको बताइएको छ । साथै अत्यावश्यक सामग्रीहरूको समेत अभाव हुन थालेको बताइएको छ । भूमध्यसागरीय आँधी पछिको बाढीका कारण पूर्वी लिबियामा ठुलो क्षति भएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल