• ११ मंसिर २०८१, मङ्गलबार

चेतनको साङ्गीतिक छलाङ

blog

काठमाडौँ, भदौ २८ गते । नेपाली गीत/सङ्गीतको क्षेत्रमा करिब दुई दशकदेखि संलग्न कलाकार चेतन राईलाई सङ्गीतले थुप्रै अवसर प्रदान गरेको छ । उहाँ भन्नुहुन्छ, “सङ्गीतले देश/विदेशका थुप्रै मञ्चसम्म र लाखौँ श्रोता–दर्शकमाझ पुग्ने अवसर प्रदान गरेको छ । त्यसो त यस क्षेत्रमा चुनौती नभएका होइनन् तर चुनौतीसँग डराउनुभन्दा अवसरतर्फ ध्यान दिँदै अगाडि बढ्दै छु ।”

नेपाल ललितकला क्याम्पससम्ममा सङ्गीतको औपचारिक अध्ययनपछि यस क्षेत्रमा आउनुभएका राईले नेपाली सङ्गीतको क्षेत्रमा पप, तथा सुगम सङ्गीतको धारलाई पछ्याउँदै आउनुभएको छ ।  सल्यानको शारदा नगरपालिका–३, खलङ्गा निवासी राई आफ्ना बुवा, दाजुहरू गाउँमा मनाइने विभिन्न चाडपर्वका अवसरमा गीत गाएर स्थानीयको माया र सम्मान प्राप्त गरेको हेर्दै हुर्कनुभयो । आफ्नो परिवारमा सङ्गीतलाई पेसा बनाएका अग्रज नभए पनि राईलाई यस क्षेत्रमा आउन परिवारका सदस्यले गाएको देखेर नै प्रेरणा मिलेको बताउनुहुन्छ ।

गायक/सङ्गीतकार राईले सन् २०१० मा ‘सेभेन’ म्युजिक एल्बममार्फत स्रोता–दर्शक तथा सङ्गीतका पारखीलाई आफ्नो परिचय दिनुभयो । उहाँले हालसम्म सेभेन, साउन्ड, स्टेप र स्टेज गीति एल्बम बजारमा ल्याइसक्नुभएको छ ।  तिमी धुन बन, बाँधन, घुम्दै जाँदा, सालैज्यू कुपिन्डे तालैमा, नाम्चे बजार, तिमी तिमी, मरेर के लानुछ, कहिले कतैलगायतका थुपै्र गीतको म्युजिक भिडियोसमेत तयार पार्नुभएको छ । उहाँले गीतमार्फत नेपालका स्थानीय पहिचानलाई उजागर गर्दै रचना गरिएको गीतमा म्युजिक भिडियो बनाएर पर्यटन क्षेत्रको प्रवर्धनमा पनि योगदान दिनुभएको छ । उहाँले ‘तिमी धुन बन, म गीत गाउँछु’ शीर्षकको गीतका लागि जिनियस म्युजिक अवार्ड प्राप्त गर्नुभएको छ । 

साथै सेप्टेम्बर २९ मा दक्षिण कोरियामा मकवानपुर कोरिया मञ्चद्वारा आयोजना गरिने साङ्गीतिक महोत्सवमा गायक प्रिती आले, सुजन चापागाईं, सुजना रुम्बालगायतसँग गायक÷सङ्गीतकार साङ्गीतिक प्रस्तुतिका लागि कोरिया जाँदै हुनुहुन्छ भने जापानमा अक्टोबर १५ मा क्लब फोर्टिनले आयोजना गर्ने पुरस्कार, सम्मान समारोहमा साङ्गीतिक प्रस्तुतिका लागि जाने तयारीमा गरिरहनुभएको छ ।