• १३ असोज २०८१, आइतबार

दुई चिकित्सकमाथि कुटपिट

blog

राममणि दाहाल

हेटौँडा,भदौ २७ गते । हेटौँडा उपमहानगरपालिका १ स्थित सञ्चो अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ ।

अस्पतालभित्रै डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार कुटपिट गरिएको हो । करिब एक महिनाअघि सञ्चो अस्पतालमा परीक्षण गराउन आएका हेटौँडा उपमहानगरपालिका १२ स्थित पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानलाई डेङ्गु सङ्क्रमण भएको र चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै पदमपोखरीका एक समूहले कुटपिट गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले  अस्पतालका दुईजना चिकित्सकमाथि कुटपिट भएको पुष्टि गर्नुभयो । उहाँले कुटपिट र समस्या समाधानका बारेमा छलफल चल्दै गरेको बताउनुभयो ।

डेङ्गु सङ्क्रमण भएका प्रधान अस्पतालमा उपचारपछि घर गएको र पुनः सोही अस्पताल उपचारका लागि आएकोमा चितवनमा थप उपचारका लागि गएका प्रधानको उपचारको क्रममा मृत्यु भएको थियो । प्रधानका आफन्तलगायत कुटपिटमा संलग्न भएको हुनसक्ने भन्दै प्रहरीले कुटपिटमा संलग्नको खोजी र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।