अविनाश चौधरी
धनगढी, भदौ २७ गते। प्रशासनले बन्द गराएको धनगढी उपमहानगरपालिका–३ मा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रालिलाई सञ्चालन अनुमति प्रदान गरिएको छ।
धनगढी उपमहानगरपालिकाले १५ शय्याको अस्पताल सञ्चालको लागि बुधबार अनुमति प्रदान गरेको हो। धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन २०७७ र धनगढी उपमहानगरपालिका स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नति तथा सेवा थप सम्बन्धि कार्यविधि २०७७ को दफा ५ को उपदफा (४) बमोजिम एक वर्षको लागि १५ शय्याको अस्पताल सञ्चालनको इजाजत दिइएको छ।
उपमहानगरपालिकाले बहिरंग, आकस्मिक, अन्तरंग, निदानात्मक, फार्मेसी, प्रवद्र्धनात्मक तथा प्रतिरोधात्मक सेवा सञ्चालन गर्नका लागि स्वस्तिकलाई इजाजत प्रदान गरेकोे प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिनुभयो।
उपमहानगरपालिकाले १५ शय्याको अस्पतालले आधारभूत स्वास्थ्य सेवालाई पनि अनिवार्य रुपमा सञ्चालन गर्नु पर्ने गरी सुधार गर्न स्वस्तिक अस्पताललाई निर्देशन दिएको छ। यसैगरी, अस्पतालबाट निस्किने फोहोर निसङ्क्रमित गरेर व्यवस्थापन गर्न, चिकित्सकको उपलब्धतामा आकस्मिक शल्यक्रिया सेवाबाहेक अन्य विशेषज्ञ सेवा दिनु परेमा ५० शय्यामा स्तरोन्नति गर्नुपर्ने र उजुरी पेटिका राख्नु पर्ने नगरपालिकाले अस्पताललाई सुझाएको छ।
अनुमति नलिई सञ्चालनमा रहेको पाइएपछि स्वस्तिकसहित धनगढी उपमहानगरपालिका–५ मा रहेको सञ्जीवनी अस्पताल प्रालिलाई बुधबार स्थानीय प्रशासनले बन्द गराएको थियो। बन्द गरिएकै दिन स्वस्तिकले इजाजत पाए पनि अर्को अस्पताल सञ्जीवनीलाई भने स्थानीय तहले अनुमति दिन इन्कार गरेको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयसहित सरोकारवाला निकायको संयुक्त अनुगमन टोलीले मङ्गलबार अस्पतालको अनुगमन गरेको थियो। अनुगमनको क्रममा दुवै अस्पताल अनुमति नलिइ सञ्चालनमा रहेको पाइएपछि बन्द गर्नका लागि प्रशासनले परिपत्र गरेको थियो।