होमराज रानाभाट
कावासोती, भदौ २७ गते । नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति एवम् प्रजातन्त्र सेनानी पूर्णचन्द्र नेपालको गएराति निधन भएको छ ।
वि.सं १९९७ सालमा जन्मिनुभएका प्रजातन्त्र सेनानी नेपालको ८४ वर्षको उमेरमा आफ्नै निवास मध्यबिन्दु नगरपालिका –३ मा निधन भएको हो । नेता नेपालका एक छोरा, दुई छोरी र दुई श्रीमती रहेका छन् ।
२०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि नेताहरूसँग भारत निर्वासनमा गएका नेता नेपाल २०३० सालमा देश फर्किएर काँग्रेसको सङ्गठन निर्माणमा जुटेका थिए ।
जिल्लामा सङ्गठन निर्माण गर्नेक्रममा वि.स. २०३२ सालमा काँग्रेस नवलपरासीका सभापति बन्नुभएका उहाँ २०११ सालदेखि काँग्रेसमा आबद्ध रहेर प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएको थियो ।
नेपाललाई वि.स. २०३५ सालमा सङ्घ संस्था नियन्त्रण ऐन अन्तर्गत तत्कालीन पञ्चायती सरकारले गिरफ्तार गरेर भैरहवा जिल्ला कारागारमा राखेको थियो । यसैबिच नेपाली काँग्रेस नवलपुरले प्रजातन्त्र सेनानी नेपालको निधनप्रति दुःख व्यक्त गरेको छ ।
जिल्ला सभापति महेन्द्रध्वज जिसीले शोक विज्ञप्ति जारी गर्दै नेता नेपालको निधनले पार्टीलाई क्षति पुगेको तथा पार्टीले जुझारु र सङ्घर्षशील नेता गुमाएको बताउनुभयो ।
कांग्रेस नवलपुरले नेता नेपालको शोकमा पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने तथा १३ दिनसम्म जिल्लामा रहेका सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।