• १९ असार २०८१, बुधबार

व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै किसान

blog

टनेलमा लगाएको टमाटरको स्याहार गर्दै झरना जिएम । तस्विर : सुजल श्रेष्ठ ।

सुजल श्रेष्ठ

प्युठान, भदौ २७ गते । प्युठान नगरपालिका-३ रातामाटाका लोकराज पोख्रेलले नयाँ प्रविधि अपनाएर कृषि खेतीलाई व्यावसायिक बनाउनुभएको छ । ४० वर्षदेखि कृषिबाटै गुजारा चलाउँदै आउनुभएका पोख्रेलले अहिले नयाँ प्रविधि प्रति चासो दिएर व्यावसायिक कृषि खेती गर्दै आउनुभएको हो ।

“पहिलो पटक ‘थ्री जी कटिङ प्रविधि’ अपनाएर काँक्रा खेती गर्न सफल भए,” पोख्रेलले भन्नुभयो, “जसबाट झण्डै दोब्बर उत्पादन लिन सकियो ।” त्यसैगरी, मल्चिङ र टनेलभित्र काँक्रा खेती गर्न सहज र उत्पादन बढी भएको उहाँको अनुभव छ ।

स्वर्गद्वारी नगरपालिका-९ भचेनीमा झरना जिएमले पहिलो पटक टनेल खेतीको सुरुवात गर्नुभएको छ । आफैँले प्लास्टिक टनेल बनाउनुभयो । टनेल कस्तो बनाउने भन्ने ज्ञान पनि सिक्नुभयो । “मैले पहिलो पटक टनेलमा टमाटर खेती सुरु गरेको हुँ,” उहाँले भन्नुभयो, “गाउँमा यसअघि टनेलमा खेती गर्ने चलन नै थिएन ।” गाउँका धेरैजसो किसानले टनेल खेती सुरु गरेको उहाँ बताउनुहुन्छ । पहिले तरकारी खेती गर्दा वर्षात्को समयमा सबै नष्ट हुने समस्या अहिले नपरेको जिएमको अनुभव छ ।

गाउँमा किसानले जैविक मलको प्रयोग, जैविक विषादीको प्रयोग गर्ने गरेको स्थानीय केशरा पौडेलले बताउनुभयो । “हामीले नर्सरी उत्पादन पनि आफैँ गर्न थालेका छौँ,” उहाँले भन्नुभयो, “झोलमल बनाएर प्रयोग गर्ने गरेका छौँ ।” कृषि खेती गर्दै जाँदा अहिले नयाँ प्रविधि र सिपको समेत जानकारी हुन थालेको उहाँ बताउनुहुन्छ ।

जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ४८ वटा प्लास्टिक टनेल किसानले बनाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख चुमान सिंह गिरीले बताउनुभयो । “हामीले किसानलाई कसरी व्यावसायिक खेती गर्ने भनेर सिकाइरहेका छौँ,” उहाँले भन्नुभयो, “टनेलको प्रयोग, मल्चिङ, थिज्री कटिङ लगायतका प्रविधिको पनि प्रयोग गरिरहनुभएको छ ।” नयाँ प्रविधिको प्रयोगबाट उत्पादन पनि वृद्धि हुने र किसानले राम्रो आम्दानी लिने गरेको गिरी बताउनुहुन्छ ।