• ७ जेठ २०८१, सोमबार

आजबाट पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

blog

एचपीभी खोप

काठमाडौं, भदौ २७ गते । सरकारले बुधबारबाट पाठेघर मुखको ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपीभी) खोप लगाउन सुरु गर्ने भएको छ । परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार १४ वर्ष पुगी १५ वर्ष ननाघेका साढे नौ हजार किशोरीलाई लक्षित गरी एचपीभी खोप डेमोस्ट्रेसनका रूपमा सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिएर कार्यक्रम सुरु गर्ने जनाएको छ । 

कार्यक्रममा २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्मिएका किशोरीहरूलाई मात्र खोप दिने डा.गौतमले जानकारी दिनुभयो ।

खोप लगाउन उमेर खुलाउने आधिकारिक प्रमाण पत्र वा वा जन्म मिति खुलाउने अन्य कागजात र दोस्रो मात्राको हकमा खोप कार्ड पहिलो मात्रा लगाउँदा प्राप्त हुने कार्ड लैजान उहाँको आग्रह छ । दोस्रो मात्राको खोप पनि पहिलो मात्रा लगाइएको स्वास्थ्य संस्थाबाट लगाउन डा.गौतमको आग्रह छ ।

कुन अस्पतालमा दिइँदै छ खोप ?

सरकारले राष्ट्रिय खोप कार्यक्रम एचपीभी खोपको सातै प्रदेशबाट डेमोस्ट्रेसनका रूपमा सञ्चालन गरेको हो ।  खोप उपलब्धका आधारमा कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल प्रादेशिक अस्पताल सुर्खेत, डडेलधुरा अस्पतालमा खोप  कार्यक्रम सञ्चालन गर्दै छ ।

विश्व स्वास्थ्य सङ्गठनले सुरुवाती चरणमा नौदेखि १५ वर्ष उमेर समूहका ९० प्रतिशत किशोरीलाई अनिवार्य खोप लगाउन सुझाव दिएको थियो । सोही सुझाव सोरुप नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरबाट कसैको पनि अकाल्कै मृत्यु नहोस् भन्ने उद्देश्यले ह्युमन पापिलोमा भाइरसविरुद्धको खोप नौदेखि १४ वर्षसम्मका किशोरीलाई निःशुल्क रूपमा सञ्चालन गर्ने घोषण गरेको हो । 

यो कार्यक्रमका लागि सरकारले चीनबाट २० हजार भाइल एचपीभी खोप खरिद गरेर ल्याएको छ । हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ ।

पाठेघरको मुखको क्यान्सर के हो ?

पाठेघरको मुखको क्यान्सर महिलामा हुने प्रमुख क्यान्सर हो । क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीका अनुसार पाठेघरको मुखका कोषिकाको अनियन्त्रित, असामान्य, अनावश्यक रूपले वृद्धि हुनुलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ‘ह्युमन प्यापिलोमा’ भाइरसको सङ्क्रमणले गर्दा हुने डा. शाहीको भनाइ छ । उहाँका अनुसार ९९.९ प्रतिशत पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा भाइरस’को सङ्क्रमणले गर्दा हुन्छ ।

यसैगरी, ०.१ प्रतिशत सानो उमेरमा विवाह गरे, असुरक्षित यौन सम्पर्क, सानै उमेरमा धेरै बच्चा जन्माउने, सरसफाइको कम, धूम्रपान गर्ने महिलाहरू पाठेघरको मुखको क्यान्सरको जोखिममा बढी हुने डा.शाही बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “ह्युमन प्यापिलोमा भाइरसका कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धूम्रपान र सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्छ ।” एचपीभीको २०० भन्दा बढी किसिमका प्रजाति हुन्छन् र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख मानिन्छ ।

पाठेघरका क्यान्सरका लक्षण

फोहोर गनाउने पानी आउने, योनी वरिपरि घाउखटिरा आउने, यौन सम्पर्कपछि रगत देखिने, महिनावारीको बिचबिचमा रगत देखिनु, ढाड, कम्मर, तल्लो पेट दुख्नु, हातखुट्टा सुन्निने जस्ता लक्षण देखिए तुरुन्त चिकित्सककोमा जान डा.शाहीको सुझाव छ ।

एचपीभी मुख्यत सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्छ तर यो सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला झिल्ली वा तरल पदार्थसँगको सम्पर्कमार्फत पनि सर्ने चिकित्सक बत्ताउँछन् ।  यसको सङ्क्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्ने गर्दछ ।

यो खोपबाट बच्चन एचपीभी खोप लगाउने र सरसफाइमा ध्यान दिने हो भने पाठेघरको मुखको क्यानसरबाट बच्न सकिने डा. शाही बताउनुहुन्छ ।

ग्लोबल क्यानको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा पाठेघरको मुखको क्यान्सरले प्रत्येक दिन ६ जनाको मृत्यु हुन्छ ।

नेपालमा पाठेघरको मुखको क्यान्सरको नयाँ बिरामी पत्ता लाग्ने दर प्रति लाखमा १६.४ प्रतिशत रहेको छ । यसैगरी, मृत्युदर प्रतिलाखमा ११.१ प्रतिशत रहेको छ ।

एचपीभी खोप कस्तो खोप हो ?

पाठेघरको मुखको क्यान्सर हुन नदिन एचपीभी खोप लगाउन चिकित्सकको सुझाव छ । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन पापिलोमा भाइरस भएकाले यो खोप प्रभावकारी भएको उहाँ बताउनहुन्छ ।

डा.शाहीका अनुसार नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । एचपीभी खोप दुई मात्रा पुरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने सङ्क्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्दछ ।

सरकारले यो भन्दा पहिले कास्की र चितवन जिल्लाबाट पाइलटिङका रूपमा एचपीभी खोप सञ्चालन गरेको थियो । तर विश्वव्यापी रूपमा खोपको अभावको कारणले यो अभियान रोकिएको थियो ।

नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा एचपिभीखोपलाई विस्तार गर्दै लैजाने लक्ष्य रहेको गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “१० देखि १४ वर्षसम्मका सबै किशोरीलाई समेत खोप लगाउने गरी निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराउने सरकारको लक्ष्य छ ।”

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।