• २४ वैशाख २०८१, सोमबार

कौसीमा बिहेको चटारो

blog

काठमाडौँ, भदौ २७ गते । कथा घेराको प्रस्तुति नाटक ‘वेडिङ एल्बम’ राजधानीको टेकुस्थित कौसी थिएटरमा असोज ४ देखि मञ्चन हुने भएको छ । दक्षिण एसियाली पितृसत्तात्मक समाजमा निहित विरोधाभाषहरू समेटी भारतीय नाटककार गिरीश कर्नाडद्वारा लिखित ‘वेडिङ एल्बम’ को अनुवाद तथा निर्देशन आकाङ्क्षा कार्कीले गर्नुभएको छ ।

नाटकमा लुनिभा तुलाधर, आशान्त शर्मा, आकाङ्क्षा कार्की, सुदाम सिके, केनिपासिंह पहरी, रञ्जना भट्टराई, विनीता लामा गुरुङ, सेबिता अधिकारी, नवीनचन्द्र अर्याल, ऋषिकेश बस्याल, जीवन गौतम र निष्ठा त्रिपाठी मञ्चमा देखिनुहुने छ । नाटकको मञ्च परिकल्पना झकेन बिसी र नीराजन डोटेलले गर्नुभएको छ भने ध्वनि परिकल्पना नरेश गजुरेल र सुरज मल्लले गर्नुभएको छ ।

योनीका कथाहरू, लाइन, प्राइभेट इज पोलिटिकल, एनिमल फार्म, हरेक बबाल कुरालगायत अनूदित नाटकबाट नेपाली रङ्गमञ्चमा प्रबल स्थान बनाएकी आकाङ्क्षा कार्की पुनः अनुवादित नाटक तयार गर्दै हुनुहुन्छ । आफू हुर्किएको मध्यमवर्गीय क्षेत्रीबाहुन समाजको संरचनामा उर्लिएर आउने गरेको ढोङ र भेदभावलाई प्रश्न गर्न यो नाटक सक्षम भएकाले पनि मञ्चन गर्ने निर्णय गरेको कार्कीले बताउनुभयो । “हाम्रो कथामा के पर्छ र के पर्दैन त्यो निरपेक्ष हुँदैन । मलाई तिनै नाटक गर्न मन पर्छ, जुन पढ्दा मलाई नाटकले आफूलाई र आआफूवरिपरिका युवालाई बुझेको महसुस हुन्छ । यस्ता नाटकले हाम्रो कथा भनिरहेका छैनन् भन्न कसरी सकिन्छ ?” उहाँले भन्नुभयो । 

नाटक यही असोज ४ देखि २७ सम्म मङ्गलबारबाहेक हरेक दिन साँझ ५ः१५ बजे टेकुको कौसी थिएटरमा मञ्चन हुने छ । हरेक शनिबार दिउँसो १ बजे अतिरिक्त मञ्चन पनि हुने छ । नाटकको अवधि एक घण्टा ४५ मिनेटको छ ।