काठमाडौं, भदौ २६ गते । त्रिवि शिक्षण अस्पतालले नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको जनाएको छ ।
चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै सङ्केत नदेखिएपछि आज (मङ्गलबार) बिहान ३ बजे नेम्वाङलाई मृत घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.सन्तकुमार दासले विज्ञप्ति जारी गर्नुहुँदै नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको बताउनुभएको हो । नेम्वाङलाई परिवारका सदस्यहरूले उपचारका लागि सोमबार राति १ः५० बजे अस्पताल लगिएको थियो ।
विज्ञप्तिमा भनिएको छ, “चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो, उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको थियो ।”