वसन्त पराजुली
भरतपुर, भदौ २६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमामा ठग्ने काम भएकाले सरकारले चिकित्सकको ‘प्रेश्किप्सन’ (उपचारका क्रममा चिकित्सक ले लेख्ने कागज) को परीक्षण गर्ने बताउनुभएको छ । भरतपुर अस्पतालको मंगलबार अनुगमन गर्दै मन्त्री बस्नेतले चिकित्सकले जथाभाबी परीक्षण र औषधि लेखेर बिमालाई ठग्ने काम गरेको आरोप लगाउनुभयो ।
“स्वास्थ्य बिमा मार्फत एक लाख रुपियाँसम्मको उपचार पाइने भएपछि अहिले बिरामीको दबाबमा वा आफैँ चिकित्सकहरूले अनावश्यक परीक्षण लेखेर बिमाको खर्च बढाई रहेका छन्, यसको परीक्षण हुन्छ”, उहाँले भन्नुभयो । स्वास्थ्य मन्त्रालयले विशेष प्राविधिक टोली बनाएर सूचना प्रविधि मार्फत ‘प्रेश्किप्सन’ परीक्षण गर्ने कार्य सुरु गर्ने पनि उहाँले जनाउनुभयो । अहिले स्वास्थ्य बिमा मार्फत परिवारले वर्षमा एक लाख रुपियाँसम्मको बिमा मार्फत उपचार खर्च पाउने व्यवस्था छ । यही व्यवस्थाको गलत फाइदा उठाउँदै ‘होलवडी’ (सिङ्गो शरीर) परीक्षण गर्ने प्रचलन बढेपछि मन्त्रालयले ‘प्रेश्किप्सन’ परीक्षणको कार्य सुरु गर्न लागेको पनि उहाँले जनाउनुभयो । उहाँले अहिलेको चिकित्सा ऐन संशोधन नभए देशमा स्वास्थ्य जनशक्तिको भ्याक्युम हुने खतरा बढेको धारणा पनि राख्नुभयो ।
“चिकित्सा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादनमा खुकुलो नीति लिन सकिएन भने जनशक्तिको भ्याक्युम खड्कने छ”, उहाँले थप्नुभयो, “अहिले पनि हामीसँग जनशक्ति नभएर तीन जना चिकित्सक तथा स्वास्थ्यकर्मीले गर्नुपर्ने काम एक जनाले गर्नुपर्ने बाध्यता छ ।”
“२२ वर्ष अघि ३३ हजार कर्मचारी थिए तर अहिले ३१ हजार मात्रै छन् । अस्पतालका सेवा सुविधा र कार्यक्षेत्र बढ्दै गएकाबेला कर्मचारी कटौतीले अस्पताल सञ्चालन र व्यवस्थापनमा समस्या भएको छ”, उहाँले भन्नुभयो । उहाँले दरबन्दी थप गर्ने विषयमा अर्थ मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले परिपत्र गरिसकेको बताउँदै, उहाँले थप्नुभयो “अहिले आवश्यकताको एक चौथाइ कर्मचारी मात्रै छन् । यसलाई थप गर्दै जान्छौ ।”
नेपालमै अध्ययन गर्ने बातवरण बनाउने गरी चिकित्सा ऐनमा संशोधन गर्न लागिएको पनि उहाँले जनाउनुभयो । “गुणस्तरीय शिक्षा आवश्यक । त्यसमा पनि नेपालमै अध्ययन गर्न महँगो नहोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो, “देशको आवश्यकता अनुसार स्वास्थ्यकर्मी भ्याक्युम हुन दिँदैनौ । ऐन संशोधन गरेर पनि अगाडि बढ्छौँ ।”
भरतपुर अस्पतालको अनुगमनपछि उहाँले यो अस्पतालमा देखिएको बढ्दो बिरामीको चाप थेग्न यसलाई शैक्षिक संस्थाका रूपमा विकास गर्नुको विकल्प नभएको बताउनुभयो ।
सो अवसरमा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्रको विकास र अस्पतालको स्तर वृद्धि गराउन सङ्घीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“नेपाल सरकारले दिएको सेवा सुविधा सहज ढङ्गबाट बिरामीले पाउनुपर्छ भन्ने मान्यता मात्रै हाम्रो हो यसमा सबै मिलेर अगाडी बढ्नुपर्छ”, उहाँले भन्नुभयो । सो अवसरमा भरतपुर अस्पतालका सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेल र अध्यक्ष राजु पौडेलले अस्पतालका अवस्थाका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए ।
यसैबिच मन्त्री बस्नेतले मंगलबार नै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको पनि अनुगमन गरेर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुभएको छ ।