काठमाडौँ, भदौ २६ गते । सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले मर्माहित भएको बताउनुभएको छ ।
उहाँले नेकपा (एमाले) का उपाध्यक्षसमेत रहनुभएका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ भन्नुभयो । “प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, उहाँले भन्नुभएको छ ।
नेम्वाङको हृदयाघातबाट गए राति १ः३० बजे निधन भएको हो । रासस