घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), भदौ २६ गते । कृषि हाटबजार सञ्चालनका लागि दुई वर्षअघि निर्माण भएको सुविधायुक्त भौतिक संरचना प्रयोगविहीन भएको छ। प्रदेश सरकारको सहयोगमा घेरबारसहित पाँच कट्ठा जमिनमा गोदाम घरसहित कृषि हाटबजारको संरचना निर्माण गरिएको हो।
उक्त स्थान पायक पर्ने ठाउँमा नभएपछि कृषि हाटबजारको संरचना प्रयोगविहीन भएको बताइएको छ। घोडाघोडी नगरपालिका–१, सुखड नजिक रहेको कृषिबजार पायक पर्ने ठाउँमा नभएको गुनासो स्थानीयको छ।
गत वर्ष फागुनदेखि हप्तामा दुई पटक सुखड बजार क्षेत्रको खुला ठाउँमा हाटबजार लाग्ने गरेको छ। प्रदेश सरकारको सहयोगमा करिब ६५ लाख रुपियाँ लगानीमा घोडाघोडी नगर कृषिबजार निर्माण भएको हो।
कृषि हाटबजारका लागि सुविधायुक्त भौतिक संरचना निर्माण गरिए पनि प्रयोगमा नआएपछि ताला लगाइ थन्किएको अवस्था छ। राज्यको लगानी उपयोगमा आउन नसकेकोमा स्थानीयवासीले दुःखेसो गरेका छन्। स्थानीय कृषक शान्ति चौधरीले भन्नुभयो, “पायक पर्ने ठाउँमा भएको भए खुला ठाउँमा बसेर घाम पानी सहेर आफ्नो उत्पादन बेच्ने थियौँ। हाटबजार भएर के गर्नु अपायक छ, सडक छेउको खुला ठाउँमा सामान बेच्न बाध्य छौँ।’’
२०७६/७७ मा कृषि ज्ञान केन्द्रमार्फत आएको सहयोग अनुदानमा निर्माण समिति गठन गरेर घोडाघोडी नगर कृषि बजारका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको तत्कालीन निर्माण समितिका सचिव होम तामाङ बताउनुहुन्छ।
सुखड बजारसँग जोडिएको खानेपानी र घोडाघोडी क्याम्पसको बिचको जग्गामा निर्माण गर्ने भनिए पनि जग्गा विवादका कारण निर्माण कार्य अन्यत्र सार्नुपरेको थियो। स्थानीय समाजसेवी रणबहादुर बोहराले जग्गा उपलब्ध गराएपछि बजारदेखि केहीभित्र हाटबजार निर्माण गरिएको बताउनुभयो।
ठुलो लगानीमा कृषि बजार बने पनि सुखड बजारदेखि डेढ किलोमिटरभित्र रहेको र कृषि उपज सङ्कलन तथा बेचबिखनका लागि पायक पर्ने नभए पनि अन्य कार्यका लागि प्रयोगमा ल्याउन नसक्नु सरकारको कमजोरी रहेको घोडाघोडी नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताउनुभयो।
२०७५/७६ मा कृषि ज्ञान केन्द्र महेन्द्रनगरबाट ५० लाख रुपियाँ अनुदान र २०७६/७७ मा कृषि ज्ञान केन्द्र कैलालीबाट १५ लाख रुपियाँ अनुदानमा पाँच कट्ठा जमिनमा पर्खालसहित कृषि बजारका लागि भौतिक संरचना बनेको छ। कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र शर्माले सरकारको लगानीको सदुपयोग हुनुपर्ने बताउनुहुन्छ।
घोडाघोडी नगरपालिकाका कृषि शाखा प्रमुख जनक धामीले कृषि बजार निर्माण भएको जानकारी भए पनि आधिकारिक रूपमा निर्माण पूरा गरी हस्तान्तरण नभएका कारण सञ्चालनमा समस्या आएको बताउनुभयो।