राजन रावत
हुम्ला, भदौ २५ गते । हुम्ला र मुगु जिल्लाको सिमानाका रहेको कर्णाली नदीको टापुमा फसेका एकजना बालकको जीवतै उद्धार गर्न प्रहरी सफल भएको छ । यसरी सकुशल उद्धार गरिएका बालकमा मुगु जिल्ला सोरु गाउँपालिका–४ को लिबरु गाउँका १५ वर्षीय बालक ईबु छत्याल हुनुहुन्छ ।
प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार, शनिबार दिउसो माछा मार्नका लागि जाल हाल्ने क्रममा कर्णाली नदीमा पौडी खेल्दै गरेको समयमा बढेको नदीको पानीको बहाबले बगाएर लग्दै हुम्ला जिल्लाको अदानचुली गाउँपालिका–१ को मकैमा रहेको टापुमा बालक उत्रिएका सफल भएका थिए ।
छत्यालको प्रहरी र स्थानीय मिली उद्धार गरिएको हो । यसका लागि मुगु र अस्थायी प्रहरी पोष्ट तुम्चबाट प्रहरी सहायक निरीक्षक खड्क बहादुर थापाको नेतृत्वमा गएको प्रहरीले लामो प्रयासपछि उद्धार गर्न सफल भएको हो ।
नदीको बिचमा टापु रहेको र दुवैतिर पानीको बहाव धेरै भएको कारण प्रहरीलाई बालक तैरिएको टापुमा डोरी फाल्न पनि कठिन भएको थियो । उहाँले राती अँध्यारोमा पटक पटकको प्रयासपछि प्रहरी डोरी बालक भएको स्थानमा फाल्न सफल भएको र सो डोरी बालकको शरीरमा बाँध्न लगाएर नदीमै तानेर नदी पार गरिएको बताउनुभयो ।
पानी बढेको नदीमा टापुबाट तानिएका बालक छत्याल केही समय कान र नाकबाट पसेको पानीका कारण बेहोस भए पनि बिस्तार पानी निकालेपछि होस खुलेको थियो । सामान्य उपचार पछि बालकलाई घरमा लगिएको छ ।