• ५ जेठ २०८१, शनिबार

देश र जनताको निस्वार्थ सेवामा नेपाली सेना

blog

नेपाली सेनाको ५६ औं सैन्यआधार तालिममा उत्कृष्ट हुने सैन्य जवानलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुहुदै नेपाली सेनाका सहायक रथी मनोज बैदवार । तस्विर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट, भदौ २५ गते । नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज बैदवारले मुलुकलाई आवश्यक परेको बखत आफ्नो ज्यानको समेत प्रवाह नगरी देश र जनताको निस्वार्थ सेवा गर्न नेपाली सेना कहिल्यै पछि नपर्ने बताउनुभएको ।

उदयपुरको गाईघाटस्थित नेपाली सेनाको पशुपतिप्रसाद गणमा सोमवार आयोजित ५६ औँ सैन्य आधार तालिमको अन्तिम दलेल कवाजको निरीक्षण पश्चात् आयोजित सुशोभन समारोहमा सहायक रथी बैदारले सो कुरा बताउनुभएको हो ।

१० महिनाको कठोर तालिम सफलतापूर्वक सम्पन्न गरेर अन्तिम दलेल कवाज प्रस्तुत गरी सिपाही दर्जामा नियुक्त हुनुभएका ९८ जना सैनिक जवानलाई हौसल्ला दिँदै सहायक रथी बैदारले राष्ट्रको मेरुदण्ड सेना भएको बताउनुभयो । सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित तथा कर्तव्यनिष्ठ सिपाही भएको उहाँको भनाइ छ । 

‘माटोले माग्दैन आफैले दिनुपर्छ’ भन्ने यथार्थलाई मनन गर्दै आउँदा दिनमा नेपाली सेनाको छविलाई अझ उच्च राख्न तपाईँहरू सबैले सैनिक मर्यादामा रहेर काम गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु उहाँले भन्नुभयो । 

सो अवसरमा सी.सं ५६ सैन्य आधार तालिममा सैद्धान्तिक तथा व्यावहारिक दुवैतर्फ सर्वोत्कृष्ट हुनुहुने खोटाङ जिल्लाको हलेसी तुवाचुङग नगरपालिका–२ का विश्वास खड्कालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । 

यसैगरी फायरिङ्गतर्फ प्रथम हुने पाँचथर जिल्ला फिदिम नगरपालिका –१ का सैन्य प्रेमकुमार मगर र ड्रिलतर्फ प्रथम हुने पाँचथरकै फालेलुङ गाउँपालिका –५ का सैन्य विवश राईलाई पनि सहायक रथी बैदारले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।