• १४ मंसिर २०८१, शुक्रबार

पोखरामा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

blog

चार्जिङ स्टेशनको उदघाटन कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङसहित । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, भदौ २४ गते । पोखरामा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको आइतबार उद्घाटन भएको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । सो स्टेसनमा २ वटा अत्याधुनिक फास्ट चार्जिङ रहेका छन् । बजारमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दैगएपछि प्राधिकरणले सो सेवा विस्तार गरेको हो ।

अब पोखरामा मात्र निजी र सरकारी गरी ४ वटा स्टेसन भएका छन् । पर्वतको कुस्मामा थप एउटा गरी जम्मा ५ वटा रहेका छन् । सार्वजनिक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन् । 

चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताका २ वटा फास्ट चार्जरहरु रहेका छन्, यसबाट ठुला बससहित ६ वटा सवारी साधनले एकसाथ चार्ज गर्न सकिने पोखरा विद्युत प्राधिकरणका प्रमुख राजीव सिंहले जानकारी दिनुभयो ।

प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सबै उपकरण खरिद तथा पूर्वाधार निर्माण गरेको हो । उपकरणहरूको मर्मत तथा नियमित सर्भिसिङ समेत प्राधिकरणले नै गर्ने नेपाल विद्युत प्राधिकरण गण्डकी प्रदेश प्रमुख जगदीशचन्द्र जोशीले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक अर्यालले नवीकरणीय ऊर्जाको प्रयोग गरी नेपाललाई वातावरणीय दृष्टिकोणले समेत उच्च स्थानमा पुगाउन सहयोग हुने बताउनुभयो । महानिरीक्षक अर्यालले भविष्यमा इन्धन र ऊर्जामा बिदेसिने ठुलो धनराशि बचत हुने, व्यापार घाटा न्यूनीकरणमा टेवा पुग्ने बताउनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले देशभित्र उत्पादित स्वच्छ हरितउर्जा यहीँ खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगले सहयोग गर्ने भएकाले देशभर चार्जिङ स्टेसनको पूर्वाधार अझै विस्तारका लागि आवश्यक गृहकार्य भइरहेको बताउनुभयो ।

विद्युत् खपत बढाउनका लागि उत्साहजनक चरणमा प्रवेश गरेको उल्लेख गर्दै घिसिङले पेट्रोलियम पदार्थबाट सञ्चालनमा रहेका निजी र सार्वजनिक सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्न सकेमा २० औँ गुना भाडा सस्तो हुने बताउनुभयो । 

प्राधिकरणले पहिलो चरणमा देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसन स्थापना गरेको छ । दोस्रो चरणमा ११ वटा चार्जिङ स्टेसन निर्माण प्रक्रिया अगाडि बढेको जनाएको छ ।

प्राधिकरणको लगानी र एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठुला सहरमा ५१ वटा विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन सञ्चालित छन् । 

करिब ४० करोड रुपियाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठुला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना–ठुला कारहरू चार्ज गर्न मिल्नेखालका छन् ।