• ६ जेठ २०८१, आइतबार

अस्पतालमा स्वास्थ्य सेवा लिनेको सङ्ख्यामा बढोत्तरी

blog

गोरखाको जिल्ला अस्पताल भवन । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका 

सुलीकोट, भदौ २४ गते । जिल्लाको सरकारी अस्पताल गोरखा अस्पतालमा स्वास्थ्य सेवा लिने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालले दिने स्वास्थ्य सेवामा क्रमिक सुधार हुँदा स्वास्थ्य सेवा लिनेको सङ्ख्या वृद्धि भएको हो ।

अस्पतालमा स्वास्थ्य सेवा लिनेको सङ्ख्या अघिल्लो वर्ष ३४ हजार १ सय ९९ थियो भने गत २०७९–८० मा ८२ हजारभन्दा बढी रहेको थियो । स्वास्थ्य सेवा सुधार हुनुभन्दा पहिले उपचार सेवा दिन नसकेकै कारण बाहिरी जिल्लामा बिरामीलाई रिफर गर्नुपर्ने अवस्था थियो । 

दैनिक बिरामीलाई दिइने सेवामा बिस्तार भएसँगै बाहिरी जिल्लाका अस्पतालमा बिरामी रिफर गर्ने सङ्ख्या घटेको गोरखा अस्पतालका निमित्त सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताउनुभयो । शनिबार अस्पतालले आयोजना गरेको आर्थिक वर्ष २०७९–८० को वार्षिक समीक्षा कार्यक्रममा अस्पतालको सेवा प्रवाहबारे जानकारी दिँदै उहाँले अस्पतालमा भर्ना हुने बिरामीको दर पनि ४६ प्रतिशतले बढेको बताउनुभयो । 

अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाप्रति सर्वसाधारणमा विश्वास बढेसँगै गोरखा अस्पतालमा प्रसूति सेवा लिनेहरूको सङ्ख्या समेत बढेको छ । शल्यक्रिया सेवा लिने बिरामीको सङ्ख्या पनि बर्सेनि बढ्दैगएको उहाँको भनाइ छ । गत आर्थिक वर्ष ९१२ जनाले शल्यक्रिया सेवा लिएको उहाँले जानकारी दिनुभयो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय ६१ प्रतिशतले धेरै हो ।  

आर्थिक वर्ष २०७८–७९ मा ३ सय ९२ जनाले फिजियोथेरापी सेवा लिएकोमा गत आर्थिक वर्ष यो सेवा लिनेको सङ्ख्या २ हजार ४० पुगेको छ । गत आर्थिक वर्षभर गोरखा अस्पतालबाट ८० हजारभन्दा बढीले सेवा लिएका छन् । जसमा ओपिडी सेवा लिनेको सङ्ख्या ६९ हजार १ सय ४८ रहेको छ । 

यस्तै, १० हजार ९७८ ले आकस्मिक र २४ सय ६३ जनाले अन्तरङ्ग सेवा लिएको डाक्टर श्रेष्ठले बताउनुभयो ।

अस्पतालको सेवा बिस्तारसँगै आर्थिक वर्ष २०७८–७९ मा ९ सय २६ जनालाई रेफर गरिएकोमा गत आर्थिक वर्ष यो सङ्ख्या घटेर ७ सय ५५ मा झरेको छ । अन्य स्वास्थ्य संस्थाबाट रेफर भएका १ सय ५२ जना बिरामीले गोरखा अस्पतालमा उपचार सेवा पाएका कार्यक्रममा जानकारी गराइएको थियो । अस्पतालका अनुसार मुटु, मिर्गौला, क्यान्सर र न्युरो लगायतका रोगमा भने अन्त रेफर गर्ने गरिएको छ । 

अस्पतालको न्यूनतम सेवा मापदण्डको परीक्षणमा अङ्क ९३ हासिलगरी गोरखा अस्पताल गण्डकी प्रदेशभरि नै उत्कृष्ट भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हाल भइरहेको सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्न अपुग भएकाले छिटै अर्को भवनको व्यवस्था गर्न लागिएको छ ।