• १४ मंसिर २०८१, शुक्रबार

पोखरा विमानस्थलबाट पहिलो व्यावसायिक उडान

blog

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ २४ गते । सञ्चालन भएको आठ महिनापछि पहिलो पटक शनिबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान भएको छ। ड्रुक एयरको जहाज भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पौने सात बजे पोखरा आएको थियो। 

तीन यात्रु लिएर आएको १५० यात्रु क्षमताको उक्त जहाजले पोखराबाट ४२ पर्यटक लिएर भुटान फर्किएको छ। ड्रुक भुटानको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो। पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट यसले १० अन्तर्राष्ट्रिय गन्तव्य र तीन आन्तरिक विमानस्थलमा उडान भर्दै आएको छ। यसले काठमाडौँमा पनि उडान गर्ने गरेको छ। ड्रुकको विमान बिहान पौने सात बजे अवतरण गरी एक घण्टापछि यात्रु लिएर फर्किएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोचोटि यात्रु विदेशका लागि उडेका छन्। 

विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले विमानस्थलबाट शनिबार भएको उडानले पहिलो पटक आम्दानी गरेकाले यसलाई पहिलो व्यावसायिक उडान मानिएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “तीन यात्रु लिएर आएको जहाज ४२ यात्रु लिएर फर्किएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोचोटि यात्रु विदेशका लगि उडेको र विमानस्थलले पनि आम्दानी गरेकाले यसलाई पहिलो व्यावसायिक उडान मानेका छौँ।”

यहाँ पहिलो वर्ष अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङलगायतका शुल्क नलाग्ने व्यवस्था गरिएको छ। यही कारणले विमानस्थल कर मात्रै आम्दानी भएको हो। उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय उडानमा यात्रुले प्रतिव्यक्ति तीन हजार रुपियाँ विमानस्थल कर तिर्नुपर्छ।” युरोपियन देशका पर्यटकलाई लैजान विमान चार्टर गरिएको हो। केही दिनअघि काठमाडौँ आएका ती पाहुना शुक्रबार बिहान हेलिकोप्टरबाटै कुरिनटार ओर्लिएका थिए। त्यसअघि काठमाडौँबाट ती पाहुनाले सगरमाथा क्षेत्रको पर्वतीय यात्रा गरेका थिए। कुरिनटारमा ओर्लिएका उनीहरूले त्यहाँ त्रिशूलीमा र्‍याफ्टिङ गरेका थिए। कुरिनटारबाट हेलिकोप्टरमै शुक्रबार पोखरा आएका उनीहरू साराङकोट पुगेका थिए। ड्रुकको आगमन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो अन्तर्राष्ट्रिय उडान हो। दोस्रो चार्टर उडानमा पोखरा अवतरण गर्ने र प्रस्थान गर्ने पाहुनालाई स्वागत गरिएको छ। गण्डकी प्रदेशका पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरका प्रमुख धनराज आचार्यसहित पर्यटन व्यवसायी शनिबार बिहान चार्टर उडानका यात्रुलाई स्वागत गर बिदाइका लागि पुगेका थिए। 

पोखरा महानगरका प्रमुख धनराज आचार्यले नियमित उडानअघि चार्टर उडान नै हुने जनाउँदै यसले सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “यो उडानले सकारात्मक सन्देश प्रवाह गरेको छ, ड्रुकले चाँडै नियमित उडान गर्ने अपेक्षा पनि गरेका छौँ। अरू चार्टर उडान पनि हुँदैछन्।” नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी भिआइपी र खर्चिला युरोपेलीको आगमनले पोखराको पर्यटन र उडान क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने भए पनि नियमित उडानमै जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “पोखराबाट कुनमिन हुँदै हङकङ, पोखरा चेन्दु जस्ता उडानका लागि पहल गर्नुपर्छ। सरकार र जिम्मेवार निकायले इच्छाशक्तिसहित काम गर्नुपर्छ, यति ठुलो लगानीलाई बर्बाद हुन दिनुहुन्न।” 

यसअघि चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सको जहाज आएको थियो। पोखरामा भएको ड्रागन बोट रेसमा सहभागी खेलाडी र अतिथिलाई लिएर सिचुआनको जहाज आएको थियो। सिचुआनको जहाज फर्किंदा रित्तै थियो। गएको जनवरी १ मा विमानस्थल उद्घाटन भए पनि यो अहिलेसम्म केही चार्टर विदेशी उडान र आन्तरिक उडानमै सीमित छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपियाँ लगानी भएको छ।