• ८ जेठ २०८१, मङ्गलबार

क्षयरोगले आक्रान्त मुसहर बस्ती

blog

बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा टिबीको सङक्रमण व्यापक पाइएपछि खकार सङ्कलनलाई डब्बा वितरण गरिँदै ।

रवीन्द्र उप्रेती

बर्दिबास, भदौ २४ गते । एक दशकअघि धुर्मुस सुन्तली फाउन्डेसनले भवन निर्माण गरेपछि देशव्यापी चर्चा पाएको बर्दिबास–१४ स्थित नमुना मुसहर बस्ती केही समययता क्षयरोगले आक्रान्त बनेको छ । 

बस्तीमा मुसहर समुदायका ५२ परिवारको बसोबास छ । तीमध्ये अधिकांशमा क्षयरोगको सङ्क्रमण देखिएको छ । क्षयरोगबाट ५२ वर्षीय फूलकुमारी सदा र ४२ वर्षीय वासुदेव सदाको मृत्यु भइसकेको बर्दिबास नगरपालिकाका, नगर स्वास्थ्य शाखाले जनाएको छ । 

औषधी नखाइदिने प्रवृत्तिले सबै उमेर समूहमा टिबी फैलिएको हो । औषधी खाँदा कमजोरी हुने, बेहोस हुने भ्रम रहेकाले रोग पालेरै बस्छन् ।

वडा नं. १४ की सामुदायिक नर्स प्रजिता कडारीका अनुसार टिबी (क्षयरोग) बाट नमुना मुसहर बस्तीका बालबालिकासमेत सङ्क्रमित छन् । लक्षणका आधारमा मुसहर बस्तीका २० जना बालबालिकाको खकार सङ्कलन गरी केही दिनअघि प्रादेशिक अस्पताल, जनकपुरमा परीक्षण गराइएको थियो । 

परीक्षणको रिपोर्ट अनुसार १० महिनादेखि दुई वर्ष उमेर समूहका चार जना बालबालिकामा छातीको टिबी पुष्टि भएकाले मुसहर बस्तीको स्वास्थ्य अवस्था गम्भीर देखिएको नगर स्वास्थ्य प्रमुख सुरेश पासवानले बताउनुभयो । बस्तीमा स्वास्थ्य जाँच नगराएका तर टिबीको लक्षण देखिएका धेरै जना हुन सक्छन् ।

गाउँका महिलाका अनुसार नमुना मुसहर बस्तीका अधिकांश पुरुष कुलतमा फसेका छन् । गाँजा र मदिरा सेवन गर्छन् । एक त स्वास्थ्य जाँच नै गराउँदैनन् । गराइहालेकाले पनि नियमित औषधी सेवन नगर्ने प्रवृत्तिले स्वास्थ्य समस्या बढेको आशा सदाले बताउनुभयो । 

मुसहर बस्तीका २० जना बालबालिकाको खकार सङ्कलन गरी परीक्षण गराइएकोमा १० महिनादेखि दुई वर्ष उमेर समूहका चार जना बालबालिकामा छातीको टिबी पुष्टि भएको छ ।

“नमुना बस्ती भन्नु मात्रै, यहाँका मर्दहरू दिनभर गाँजा तानिरहन्छन् । झन् रक्सी त भन्नै पर्दैन, पानी पिए बराबर छ,” आशा सदाले समुदायको आनीबानी सुनाउनुभयो, “पुलिस पनि के गर्छ कुन्नि ? यस्तालाई समाएर लान पनि सक्दैन ।”

बस्तीका मुखिया बिल्टु सदाका अनुसार औषधी नखाइदिने प्रवृत्तिले सबै उमेर समूहमा टिबी फैलिएको हो । “औषधी खाँदा कमजोरी हुने, बेहोस हुने भ्रम रहेकाले रोग पालेर बस्छन्, भनेको मान्दैनन् । न समयमा जँचाउँछन् न दबाइ खाइदिन्छन्,” उहाँले समस्या बताउनुभयो ।

अधिकांशमा टिबीका लक्षण देखिएपछि बर्दिबास नगरपालिकाले मुसहर बस्तीमा शनिबार खकार सङ्कलन शिविर आयोजना गर्नुका साथै सचेतीकरण अभियान सुरु गरेको छ । मुसहर बस्ती पुग्नुभएका नगरप्रमुख प्रह्लाद क्षेत्रीले कुलत त्याग्न र स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य परीक्षण निःशुल्क रहेको र क्षयरोग लागेका मुसहर समुदायलाई पौष्टिक आहारका लागि एक हजार पाँच सय रुपियाँ उपलब्ध गराएको जानकारी दिनुभयो । वडा नं. १४ का वडाध्यक्ष विजय महतोले बस्तीको सफाइप्रति ध्यान दिन आग्रह गर्दै यसमा नगरपालिकाले सहयोग गर्ने आश्वासन दिनुभयो । 

नगर स्वास्थ्य प्रमुख सुरेश पासवानका अनुसार शिविरमा बस्तीका सबैलाई खकार सङ्कलनका लागि डब्बा वितरण गरिएको छ । बिहानीको खकारसहितका डब्बा सङ्कलन गरी परीक्षण गरिने र प्राप्त रिपोर्ट अनुसार नमुना मुसहर बस्तीमा थप सेवा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।