• १४ मंसिर २०८१, शुक्रबार

अपाङ्गता भएका व्यक्तिलाई अवसरको खाँचो

blog

ह्वीलचियरको माध्यामबाट सामग्री बेच्दै कृष्ण सुवेदी । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, भदौ २३ गते । अपाङ्गता भएका व्यक्तिहरूले सीपमूलक तालिम पाएर पनि उत्पादनमा जोडिन नसकेको गुनासो गरेका छन् । तालिम दिने संस्थाहरूले जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सीप सिकाएर रोजगारीसँग जोडी आत्मनिर्भर बनाउने भने पनि व्यवहारमा त्यस्तो नहुनेगरेको उहाँहरूको गुनासो छ ।  

साहस र आँट हुने हो भने अपाङ्गता भएकाहरूले पनि राम्रो काम गर्न सक्छन् । नवलपुरको गैँडाकोट नगरपालिका –६ का कृष्ण सुवेदी जन्मजात अपाङ्ग हुनुहुन्छ । उहाँको कम्मरदेखि तलको भाग चल्दैन । ह्वीलचियरविना हिड्डुल गर्न सक्नु हुन्न । तर उहाँको साहस र आँट हेर्ने हो भने सपाङ्गलेजस्तै काम गर्दै आउनुभएको छ । 

विगत पाँच वर्षदेखि दैनिक आफू हिड्डुल गर्ने ह्विलचियरको पछाडि राखेर सफा गर्ने सामग्रीहरू (फिनेल, हार्पिक, पीताम्बर र लिक्विड) बेच्न गाउँ पुग्दै उहाँको दैनिकी बित्नेगरेको छ । उहाँ भन्नुभयो, “गैँडाकोट नगरपालिकाको १ देखी ८ वडासम्म पुग्नेगरेको छु । मासिक २५ देखि ३० हजार आम्दानी हुनेगरेको छ ।”

घर खर्चका लागि केही भए पनि सहयोग पुग्नेगरेको छ । तर अपाङ्ग भएकै कारण सामग्री बेच्न जाँदा कोहीले मुल्यसूचिभन्दा कम दिनेगरेका छन् । अपाङ्ग भएर ह्विलचियरबाट नै समान बेचेर आम्दानी गरे तापनि अझ राज्यबाट आत्मनिर्भर हुने अवसर प्रदान गर्नुपर्ने उहाँको धारणा छ  ।

कावासोती–८ का जीवन गौतम पनि जन्मजात अशक्त हुनुहुन्छ । उहाँको दाहिने हात र खुट्टा चल्दैन । कक्षा १० सम्म अध्ययन गर्नुभएको छ । उहाँको आमा हरिकला गौतमले भन्नुभयो, “जीवनलाई मैले विद्यालय लाने ल्याउने गर्थेँ, अब त म आफै वृद्ध भइसकेको छु, उसको रेखदेख गर्न समस्या भएको छ ।” 

नवलपुरमा अपाङ्गता भएका करिब सात हजार व्यक्ति छन् । जसमध्ये पाँच हजारले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् । जिल्लाको गैँडाकोटमा ७३० जना, देवचुलीमा ६९० जना, कावासोतीमा ९३४ जना, मध्यविन्दुमा ७५० जना, विनयीत्रिवेणीमा ३७५ जना, हुप्सेकोटमा ५१५ जना, वुलिङटारमा ७५८ जना र बौँदिकालीमा २८१ जनाले अपाङ्गता परिचयपत्र लिएका छन् । 

विभिन्न परियोजना मार्फत केही मात्रामा सेवा सुविधा पाएको भए पनि उक्त सीप सिकाई कार्यक्रमले जिल्लामा रहेका अपाङ्गता भएको व्यक्तिहरूले लाभ लिन नसकेको अपाङ पुनर्स्थापना केन्द्र नवलपुरका उपाध्यक्ष विष्णु भुसालले बताउनुभयो ।