• १७ असार २०८२, मङ्गलबार

विकास र समृद्धिको दिशामा प्रदेश सरकार छ : मुख्यमन्त्री पाण्डे

blog

कार्यक्रममा प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका 

सुलीकोट, भदौ २३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास र समृद्धिको दिशामा प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको नवनिर्मित भवनको शनिवार उद्घाटन गर्नुहुदैँ उहाँले प्रदेशभित्रका सबै क्षेत्रको समानुपातिक ढङ्गबाट विकास गर्नेगरी सरकार अघि बढिरहेको बताउनुभयो । 

‘गण्डकी प्रदेशभित्रका सबै क्षेत्रमा समानुपातिक ढङ्गबाट विकास अगाडि बढाउन सकियोस् भन्ने प्रदेश सरकारको चाहना रहेको छ’, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘त्यसका लागि आर्थिक समृद्धिको नयाँ सम्भावना खोल्न सकियोस् भन्ने कुरामा सरकार सकारात्मक  इमानदारीपूर्वक  प्रयत्न गरिरहेको छ ।’

उहाँले गण्डकी प्रदेश सरकार आर्थिक समृद्धिको नयाँ सम्भावना खोल्न प्रयासरत रहेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले नेपाली समाजमा पछिल्लो समय राजनीतिक दल र सरकारप्रति केही असन्तुष्टि र आक्रोश देखिएको भन्दै त्यसलाई सबै क्षेत्र मिलेर समाधान गर्नुपर्नेमा जोडदिनुभयो । 

‘स्वतन्त्रताको नाममा छाडातन्त्र मौलाउँदै गएको अवस्था देखिएको छ’ उहाँले भन्नुभयो, ‘पत्रकारिता जगतमा धेरै पत्रकार साथीहरु इमानदारीपूर्वक  काम गरेर पत्रकारिताको मर्यादालाई कायम राख्दै अघि बढिरहनु पनि भएको छ । तर केहीले पत्रकारिताको नाममा जस्तो किसिमको सम्प्रेषणहरु बाहिर ल्याइरहनुभएको छ त्यसले सिङ्गो पत्रकारिता जगतमाथि नै प्रश्नचिन्ह खडा गर्ने परिस्थिति सिर्जना गरिरहेको छ ।’

गण्डकी प्रदेश सरकार पत्रकारिता जगतको विकासका लागि पत्रकारिता क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारिता जगतको तर्फबाट पनि प्रदेश सरकारले सकारात्मक सहयोग र सुझावको अपेक्षा गरिरहेको छ ।’ मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई सबैको नमुना प्रदेश बनाउन पत्रकारिता क्षेत्रले पनि नयाँ बाटो देखाउन अनुरोध गर्नुभयो ।