प्रेम अधिकारी
पशुपतिनगर (इलाम), भदौ २२ गते । इलामको माइजोगमाई गाउँपालिकाले गाउँपालिकाको कार्यालयमा लेखा अधिकृतसँग अनैतिक क्रियाकलाप गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस गर्ने भएको छ ।
गाउँपालिकाले आज शुक्रबार पत्रकार सम्मेलनगरी गाउँपालिकाको प्रतिष्ठामा आँच आउने क्रियाकलाप गरेको निस्कर्ष निकाल्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राईलाई कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको भदौ २१ गतेको निर्णय सार्वजनिक गर्दै कार्यालयमा अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृत राईलाई कानुन बमोजिमको कारवाहीका लागि सिफारिस गर्ने र लेखा अधिकृत रेश्मा राईलाई ७ दिनको म्याद दिई स्पस्टीकरण पेश गर्न मौका दिइने गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले जानकारी दिनुभयो ।
उहाँका अनुसार लेखा अधिकृत राईलाई स्पष्टीकरण पेश नभएसम्मका लागि लेखा अधिकृतको जिम्मेवारीबाट हटाउने निर्णय भएको छ । गत १९ गते प्रशासकीय अधिकृत काजीमान र लेखा अधिकृत रेश्माबीच कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेको थियो ।
भिडियो बाहिरिएपछि दुबै कर्मचारीलाई कारवाही गर्न माग गर्दै दवाब बढेको थियो । गाउँपालिकाले जारी गरेको बिज्ञप्तिमा बाहिरिएको भिडियो सीसीटीभी फुटेज होकि होइन भनेर छानविन गर्न र भिडियो कसरी बाहिरियो भन्ने पत्ता लागउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने भएको छ ।
गाउँपालिकाले गत साउन १८ गते गाउँपालिकामा भएको आगलागिको छानविन गर्नका लागि समेत प्राविधकको सहयोग लिनेभएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनुभयो । यसअघि गाउँपालिका अध्यक्ष थेवेको अध्यक्षतामा समिति गठन भए पनि कुनै प्रतिवेदन सार्वजनिक भएको थिएन । आगलागिबाट १३ लाख बढीको क्षति भएको गाउँपालिकाले जनाएको छ ।
अनैतिक गतिबिधिको प्रमाण नष्ट गर्न तत्कालीन प्रशासकीय अधिकृत राईले आगजनी गरेको भनेर समेत बिरोध भइरहेको छ । अधिकृत राई यसअघि नै सरुवा भएर झापाको बाह्रदशी गाउँपालिका जानुभएको छ । लेखा अधिकृत राईले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ । भिडियो बाहिरीएकै दिन लेखा अधिकृत राई पनि कार्यालय छाडेर काठमाडौं जानु भएको छ । गाउँपालिकाले बिज्ञप्तिमा सो क्रियाकलापबाट गाउँबासी र कर्मचारीलाई बिचलित नभइ काम गर्न आग्रह गरेको छ ।