• २६ पुस २०८१, शुक्रबार

शिक्षामा प्रदेश सरकारले लगानी गर्दैछ : मुख्यमन्त्री शाह

blog

वीरेन्द्र विद्या मन्दिर क्याम्पसको सभामा बोल्दै मुख्यमन्त्री शाह । तस्बिर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, भदौ २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मावि तहको शिक्षा स्थानीय तहसँग र उच्च शिक्षा सङ्घीय सरकारको मातहत भएकाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा काम गर्ने वातावरण नभएको बताउनुभएको छ । 

वीरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुरको क्याम्पस सभालाई बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रत्यक्ष जिम्मेवारी नभए पनि प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउँदै गएको बताउनु भएको छ । 

‘नेपालमा शैक्षिक नीति र शिक्षा क्षेत्रमा धेरै समस्या छन्, सबै समस्यालाई सुल्झाउन प्रधानमन्त्री, सङ्घीय मन्त्रीसँग कुरा उठाएका छौँ’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘प्रदेश सरकारले शिक्षा नीति बनाउन समिति गठन भैसकेको छ, अध्ययनपछि सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत हरेक पालिकामा एक प्राविधिक नमुना विद्यालय बनाउनेदेखि उच्च शिक्षामा लगानीको बाटो खुल्नेछ ।’

मुख्यमन्त्री शाहले शिक्षा क्षेत्रमा व्यापक सुधार भइरहेको तर पूर्वाधार र गुणस्तरको अभाव रहेको बताउनुभयो । ‘प्रदेश सरकारले सीमित साधन स्रोतका भरमा सुदूरपश्चिमलाई व्यवस्थित गरेर लैजाने जमर्को गरेको हो, नियोजित रूपमा गलत छैन तर पनि बजेट पेस गरिसकेपछि चार जना मन्त्रीबाहेक प्रदेश सभाका सबै सदस्य विपक्षमा देखिएका छन् ।

राजनीतिक प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो, ‘नेपालका सबै दलका मुख्य नेताहरू लामो राजनीतिक कष्टकर जीवन र सङ्घर्ष गरेर आउनुभएको छ । काम गरिरहनु भएको छ । तर सङ्घीयतापछि पनि रूपान्तरण भएन, यो गहन विषय हो ।’

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगतबहादुरसिंह रावलले उच्च शिक्षा हासिल गर्ने विद्यार्थी विदेश पलायन हुनु चिन्ताको विषय भएको बताउनुभयो । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरेन्द्र विद्या मन्दिर क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्कायमा स्नातक र स्नातकोत्तर तहको पढाइ हुन्छ । २०६३ सालमा स्थापना भएको यस क्याम्पसमा एक हजार ९८१ विद्यार्थी अध्ययनरत छन् ।

क्याम्पसले यसै वर्ष विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवम् प्रत्यायन (क्यूएए) प्राप्त गरेको छ । क्यापसको पूर्वाधार विकासमा सुदूरपश्चिम प्रदेश सरकारको सहयोग रहँदैआएको र आगामी दिनमा पनि अपेक्षा गरिएको क्याम्पस प्रमुख हर्कबहादुर भण्डारीले बताउनुभयो ।