काठमाडौं, भदौ २१ गते । प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणको प्राथमिकता र कार्यसूचीबारे सदनलाई जानकारी दिन माग गर्नुभएको छ ।
बैठकको विशेष समयमा सांसद पन्तले प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र अमेरिकाबाट सिधै चीन जानुभन्दा आफ्नै भूमिमा फर्किएर चीन जानु राम्रो हुने उल्लेख गर्दै चिनियाँ पुँजी र प्रविधि नेपालमा ल्याउन ठोस पहल गर्न आग्रह गर्नुभयो ।
उहाँले नेपाललाई आत्मनिर्भर हुने जलाशयसम्बन्धी परियोजनामा चीनले सघाउन सक्नेमा जोड दिँदै पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा हवाई उडान सञ्चालनको पहल गर्न र बिआरआई परियोजनामा हस्ताक्षर भइसकेकाले लागू गर्न स्मरण गराउनुभयो । प्रधानमन्त्री प्रचण्ड आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदै हुनुहुन्छ । रासस