• २५ असार २०८२, बुधबार

रसुवागढीमा भीषण बाढी

नौ जनाको मृत्यु, उन्नाइस बेपत्ता

blog

रसुवाको ल्हेन्देखोलामा आएको बाढी । बाढीले क्षतिग्रस्त स्थानको निरीक्षण गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ।तस्बिर : गोरखापत्र/प्रम सचिवालय

मित्र भण्डारी, काठमाडौँ/गङ्गाकुमारी मिजार, रसुवा/मुरारी अधिकारी, धादिङ 

काठमाडौँ, असार २५ गते । नेपाल–चीन सीमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात् आएको भीषण बाढीमा परी नौ जनाको मृत्यु भएको छ । 

बर्सात नै नभएको अवस्थामा मङ्गलबार बिहान ३ बजे आएको भीषण बाढीमा परी १९ जना बेपत्ता छन् भने ५७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । जसमध्ये पाँच महिला र ५२ जना पुरुष छन् । उद्धार गरिएकामध्ये ५२ जना नेपाली, एक जना चिनियाँ नागरिक र चार जना भारतीय नागरिक छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डिआइजी विनोद घिमिरेका अनुसार उक्त बाढीमा इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत दुई जना प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारणको खोजीकार्य जारी छ । 

भीषण बाढीले नेपाल–चीन जोड्ने 

मितेरी पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाउनुका साथै स्याफ्रुबेँसी–रसुवागढी सडक अवरुद्ध भएको छ । बाढीले ठुलो मानवीय तथा भौतिक क्षति भएको र पूरा विवरण आउने क्रममा रहेको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव अधिकारीका अनुसार बाढीले २०७६ सालदेखि सञ्चालनमा आएको मितेरी पुल ध्वस्त बनेको छ । 

रसुवा समाचारदाताका अनुसार २०७२ सालको भूकम्पले जीर्ण बनाएको मितेरी पुल चीन सरकारले पुनर्निर्माण गरी सञ्चालनमा आएको थियो । बाढीले रसुवा भन्सार कार्यालयको प्राङ्गण, टिमुरेस्थित सुक्खा बन्दरगाह र विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसनमा ठुलो क्षति पुगेको छ । बाढीले भन्सार जाँचका लागि सामानसहित राखिएका २३ वटा कन्टेनर, ३५ वटा विद्युतीय सवारीसाधन र छ वटा ट्रक बगाएको र रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा क्षति पुगेको प्रहरीले जनाएको छ ।

अकस्मात् बाढी आएको सूचनासँगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीयवासीको सक्रियतामा उद्धार सुरु भएको थियो ।  बाढीको सूचना पाएसँगै नेपाली सेनाको विपत् व्यवस्थापनको टोली एमआई हेलिकोप्टरसहित उद्धारमा खटिएको थियो । त्यसै गरी नेपाली सेनाको श्रीनाथ गणको सक्रियतामा टिमुरेको बाढीमा फसेका नौ जनाको तत्कालै उद्धार गरिएको थियो । 

बाढीले उत्तरगया–१, मैलुङस्थित गल्छी बेत्रावती स्याफ्रुबेँसी सडकखण्ड अन्तर्गत त्रिशूली नदीमा रहेको बेलिब्रिज बगाएको छ । त्यसै गरी स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको अधिकांश भाग बाढी र पहिरोले क्षतिग्रस्त बनेका कारण उद्धार तथा राहत वितरणमा समेत कठिन अवस्था सिर्जना भएको छ । उद्धार सामग्री लिएर सदरमुकाम धुन्चेबाट टिमुरेतर्फ जान नसकिएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङनुर्पु तामाङले बताउनुभयो । घटनापछि सुरक्षाको दृष्टिकोणले स्थानीय बासिन्दालाई सतर्क रहन तथा अनावश्यक रूपमा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ । 

प्रहरीका अनुसार उत्तरगया–५, स्थित खोला किनारामा एक पुरुषको दाहिने खुट्टा मात्र फेला परेको छ । त्यसै गरी नुवाकोटको विदुर–३, श्रीखालीमा दाहिने खुट्टा नभएको शव फेला परेको छ । धादिङ समाचारदाताका अनुसार धादिङस्थित त्रिशूली नदीमा थप दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमाल बमले गल्छी–२, क्यरेनीटार र गजुरी–६, बेल्खुस्थित त्रिशूली नदी किनारमा दुई वटा शव फेला परेको बताउनुभयो । 

शवको अवस्था हेर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान गरिएको र पहिचान खुल्न बाँकी रहेको हमालले जानकारी दिनुभयो । दुवै शव पुरुषको रहेको अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उक्त बाढी अविरल वर्षासँग नभई कुनै हिमताल फुटेर आएको हुन सक्ने अनुमान गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सम्पर्कविहीनमध्ये नौ जना नेपाली नागरिक रसुवागढी नाकामा रहेको भन्सार परिसरमा कार्यरत रहेको खुलेको छ ।

बेपत्ताको खोजीकार्य भइरहेको थापाले बताउनुभयो । अहिले ल्हेन्देखोलामा पानीको सतह बिस्तारै घट्न थालेको बताइएको छ । ल्हेन्देखोलादेखि आएको बाढीको प्रभाव नुवाकोट र धादिङमा समेत परेको छ । बाढीका कारण नुवाकोटको विदुर–१ मा त्रिशूली नदीमा फसेका एक महिला र एक पुरुषलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । 

त्रिशूली नदीमा दाउरा खोज्ने क्रममा एक्कासि आएको बाढी घेरिएर रुखमा फसेका ६६ वर्षीय पाल्देन तामाङ र ६६ वर्षीया मङ्गली तामाङको हेलिकोप्टरबाट उद्धार गरी त्रिशूली अस्पतालमा उपचार भइरहेको र दुवै जनाको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

उत्तरबाट आउने बाढीले बबन्डर 

बर्सात् नै नभएको अवस्थामा हिमाली क्षेत्रमा बेला बेला आउने भीषण बाढीका कारण ठुलो जनधनको क्षति हुने गरेको छ । मङ्गलबार बिहान अन्दाजी ३ बजे आएको भीषण बाढीले ठुलो जनधनको क्षति पु¥याएको छ । 

यसअघि २०७८ असार २ गते एक्कासि आएको गेग्य्रानसहित भीषण बाढीले सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची र इन्द्रावती नदीको तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको थियो । सो बाढीमा एक सयभन्दा बढीको मृत्यु भयो भने कैयौँ अझै पनि बेपत्ता छन् । त्यसअघि २०७३ र २०७१ सालमा भोटेकोशी र सुनकोशीमा आएका बाढीका कारण राम्चेमा १४५ जनाको मृत्यु भएको थियो । नदी थुनिएका कारण भीषण बाढी आएको थियो । 

त्यसै गरी २०८० साल साउनमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४, कागबेनीमा अकस्मात् आएको बाढीका कारण ठुलो भौतिक क्षति भएको थियो । त्यसै गरी गत जेठ १ गते राति हुम्लाको लिमी उपत्यकामा रहेको हिमताल फुट्दा आएको बाढीका कारण हुम्लाको नाम्खा–६ को तिलगाउँमा पहिरो जाँदा सिङ्गो गाउँ नै विस्थापित बनेको थियो । सो बाढीका कारण तिलगाउँभन्दा माथि झन्डै ५३०० मिटरमाथिका दुई वटा हिमताल फुटेका कारण बाढी आएको थियो ।

राहतमा खटिन निर्देशन 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीले अविरल वर्षापछि आएको बाढीले ठुलो जनधनको क्षति पु¥याएको घटनाप्रति चिन्ता व्यक्त गरेको छ । नेकपा (एमाले) बागमती प्रदेश कमिटीले सक्रिय रूपमा उद्धार र राहतमा खटिन नेता कार्यकर्तालाई निर्देशन गरेको छ । 

उद्वार कार्य प्रभावकारी बनाउन ध्यानाकर्षण 

नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । कांग्रेसले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले गरेको जनधनको क्षतिले दुखित र गम्भीर बनाएको बताउँदै राहत र उद्धारमा युद्धस्तरमा लाग्न अपिल गरेको हो । 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले २०८१ असोज १२ मा गम्भीर विपत्ति व्यहोर्नु परेको स्मरण गर्दै–गराउँदै ऐक्यवद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तीनै तहको सरकारलाई पार्टीका तर्फबाट आग्रह गर्नुभएको छ । 

अस्थायी पुल र कलभर्ट बगायो 

यसैबिच राससका अनुसार  उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–४, चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण बाढी आएको छ । मङ्गलबार साँझ ५ बजेदेखि ल्होमन्थाङको चुमजुङ लेकबाट भीषण लेदोसहितको बाढी आएको ल्होमन्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो ।

चुमजुङ लेकबाट आएको भीषण बाढीका कारण लोमान्थाङ गाउँपालिकाभित्रका करिब चार वटाभन्दा बढी अस्थायी पुल र कल्र्भट बगाइसकेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले उपल्लो मुस्ताङबाट भीषण बाढी आउन सुरु गरेको प्रहरी र प्रशासन सबैलाई जानकारी गराइएको बताउनुभयो । यहाँको बाढीको प्रभावले कालीगण्डकी तटीय क्षेत्रका बस्तीलाई थप जोखिम हुने देखिएकाले सतर्क रहन हामीले फोनमार्फत सूचना गरेको अध्यक्ष गुरुङको भनाइ छ । उपल्लो मुस्ताङको चुमजुङ गाउँ नेपाल–चीन सीमावर्ती नजिकको गाउँ हो । मङ्गलबार त्यहाँबाट अकल्पनीय रूपमा भीषण बाढी आउन सुरु गरेको छ ।

यसैबिच राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कालीगण्डकी नदीको जोमसोम जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रिममा रहेकाले कालीगण्डकी नदी, रौघाट खोला, म्याग्दी खोलालगायत ससाना नदीको तल्लो तटीय आसपासका बासिन्दाले बुधबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।