फडिन्द्र अधिकारी
लेखनाथ, भदौ २० गते । पोखरेली गल्फर बलराम थापा भदौ अन्तिममा उपल्लो मुस्ताङ जाँदै हुनुहुन्छ । मुस्ताङ गल्फ कोर्सले लोमान्थाङमा भदौ ३० बाट आयोजना गर्ने दोस्रो गल्फ च्यालेन्जमा सहभागी हुन उहाँ जान लाग्नुभएको हो ।
विश्वको सबैभन्दा उच्च ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको गल्फ कोर्समा अदभूत अनुभव लिने उहाँको सपना छ । पहिलो संस्करणमा उपविजेता बन्नुभएका थापाको यसपाली विजेता नै बन्ने आकांक्षा र तयारी छ । पहिलो संस्करण सम्झिँदै उहाँले भन्नुभयो, “त्यहाँको गल्फ कोर्स खेल्न मिल्नेखालको छ । ठाउँ भने असाध्यै राम्रो छ ।”
थापासँगै खेल्नुभएका गल्फर भक्तराज गुरुङ मुस्ताङ गल्फ कोर्सको खेललाई ‘अद्भूत’ भन्नुहुन्छ । “त्यत्रो उचाइमा खतरा त हुन्छ नै, अनुशासनमा बस्ने हो भने केही हुँदैन । गल्फ कोर्स नराम्रो छैन, अझै निकै राम्रो बनाउन सकिन्छ ।”
पहिलो संस्करणबाट सिकेर यसपालीको प्रतियोगितालाई थप व्यवस्थित बनाइने राजनीतिज्ञ एवं समाजसेवी ईन्द्रधारा विष्टको भनाइ छ । यो गल्फ कोर्स विष्टकै अगुवाइ र केही उहाँकै लगानीमा तयार भएको हो । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले मुस्ताङमा खेल पर्यटनको सम्भावना खोज्न प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो ।
‘प्रतियोगितालाई जीवित राख्न चाहेका हौँ । मरेपछि सकियो नि !’ उहाँले भन्नुभयो, “संसारकै सबैभन्दा उचाइको गल्फ कोर्सको विश्व रेकर्ड बनाउनका लागि संस्था दर्ता भइसकेको छ । चाँडै हामी इतिहास रच्छौँ ।” अहिलेसम्म सिक्किमको कुपुकमा रहेको याक गल्फ कोर्स (३९७० मिटर) ले विश्वकै सर्वाेच्च स्थानमा रहेको गल्फ कोर्सको कीर्तिमान ओगटेको छ ।
यसपालि हुने प्रतियोगितामा काठमाडौँ, धरान, पोखरा, बुटवललगायतका सहरबाट ४० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । तीमध्ये चार जना महिला गल्फर छन् । अर्काे सालबाट अन्तर्राष्ट्रिय खेलाडी निम्त्याएर प्रतियोगिता गर्ने आयोजकको तयारी छ ।
विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, पिनको नजिक, सबैभन्दा लामो ड्राइभ र बर्डिजलाई पुरस्कारको व्यवस्था गरिएको छ । होल इन वान गर्नेले भने घोडा पाउने छन् । आयोजक विष्ट भन्नुहुन्छ, “होल इन वान गर्नेले एक लाख पर्ने घोडा पाउने छन् ।”
हिमालयन गल्फ कोर्सका व्यवस्थापक एवं व्यावसायिक खेलाडी भुवन गुरुङ खेलाडीको स्वास्थ्य सेवाका लागि स्वास्थ्यकर्मीको टोल खेलस्थलमा राखिने बताउनुभयो । सुरुको दिन नौ होलमा खेल खेलाइने र कुनै कठिनाइ आइनपरे अर्काे दिन फेरि नौ होलको खेल खेलाउने तयारी रहेको उहाँको भनाइ छ ।
यहाँ गत वर्ष सद्गुरुको एक सय ५० जनाको समूहले यहाँ आएर गल्फ खेलेको थियो । गत वर्ष प्रतियोगिताको टप अफ दि वल्र्ड गल्फ क्लासिक उपाधी श्याम तामाङले जित्नुभएको थियो । महिला तर्फको उपाधि सुष्मा सिंहले हात पार्नुभएको थियो ।