• ६ जेठ २०८१, आइतबार

‘एचपीभी’ खोप प्रसूति अस्पतालबाट लगाउन सुरु गर्ने सरकारको तयारी

blog

काठमाडौं, भदौ २० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि परोपकार प्रसूति तथा रोग अस्पताल सुरु गर्ने भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको ६४ औँ वार्षिकोत्सवको अवसरमा भिडियो सन्देश जारी गर्दै  एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

उहाँले सातै प्रदेशका सात अस्पतालबाट एचपीभी खोप लगाउने जानकारी दिनुभयो । 

 खोपले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउँछ । अहिले पहिलो मात्रा र ६ महिनापछि दोस्रो मात्रा खोप दिइने छ । 

यसको लागि सरकारले चीनबाट दुई महिना अघि २० हजार भाइल एचपीभी खोप खरिद गरेर ल्याएको थियो।दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइने छ । नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिएको छ ।

एचपीभी भनेको के हो ?

संसारका विभिन्न देशमा गरिएको अध्ययन् अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक ह्युमन प्यापिलोमा भाइरस हो ।

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार  ‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । 

उहाँले भन्नुभयो, “ह्युमन प्यापिलोमा भाइरसका कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धूम्रपान र सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्छ ।” 

एचपीभीको २०० भन्दा बढी किसिमका प्रजाति हुन्छन् र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख मानिन्छ । 

डा. शाहीका अनुसार नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । 

ह्युमन प्यापिलोमा भाइरस विरुद्धको खोपलाई एचपीभी खोप भनिन्छ । खोप लगाएकाह्रुमा ह्युमन प्यापिलोमा भाइरसले भविष्यमा गराउने पाठेघरको मुखको क्यान्सरको जोखिम ७० प्रतिशत कम गर्ने अध्ययनबाट पुष्टि भएको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।