• २६ पुस २०८१, शुक्रबार

सुदूरपश्चिम सरकारले सन्देश दिनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री शाह

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी

डडेल्धुरा, भदौ २० गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि, पर्यटन र उर्जाको क्षेत्रलाई प्राथमिकतामा राखेर सुदूरपश्चिम सरकारले सन्देश दिनेगरी काम गरिरहेको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले बुधबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सो कुरा बताउनुभएको हो । सुदूरपश्चिम सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सन्देश दिनेगरी काम गरिरहेको बताउनुभयो ।

सुदूरपश्चिममा भएका सम्भावनालाई उजागर गर्न निजी क्षेत्रलाई पनि आह्वान गरिसकेको जानकारी दिदै मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

प्रदेशको राजधानीका सवालमा उहाँले कैलालीको गोदावरीमा सम्भव नभए विकल्प खोजिने पनि बताउनु भयो । ‘गोदावरीमा राजधानी बनाउने भन्ने दुई तिहाईको निर्णय हो’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘विभिन्न कारणले वन मन्त्रालयलगायतका अनुमति दिन नसकिरहेको अवस्था छ । सरोकारवाला मन्त्रालयबाट अनुमति लिएर राजधानी बनाउने प्रक्रियामा हामी जान्छौं ।’

उहाँले राजधानी स्थापनाका विषयमा गठबन्धनका दलहरुबीच छलफल पनि सुरु गरिसकेको बताउनुभयो । मुख्यमन्त्री शाहले प्रदेशको नाम परिवर्तनका विषयमा पनि पटक पटक चर्चा हुनेगरेको भए पनि तत्काल त्यस्को तयारी भने नभएको बताउनुभयो । नाम परिवर्तन नै नहुने भन्ने होइन, मुख्यमन्त्री शाहले भन्नुभयो, ‘उपयुक्त नाम पाइयो भने संसोधन गरौंला । तर अहिले त्यस्तो केही तयारी छैन ।’